धरान । किरात लिम्बू समुदायको प्रमुख चाड चासोक तङ्नामको अवसरमा यस वर्ष पनि धरानमा पाँच दिने सांस्कृतिक उत्सव आयोजना हुने भएको छ।
किरात याक्थुङ चुम्लुङ धरान उपमहानगर कार्यसमितिले सोमबार धरान–१५ स्थित चुम्लुङ हिममा पत्रकार सम्मेलन गर्दै मंसिर १८ देखि २२ गतेसम्म उत्सव सञ्चालन हुने जानकारी दिएको हो।
उत्सव सुरु हुनु अघिल्लो दिन मंसिर १७ गते बुधबार बिहान धरान–१४ विजयपुरस्थित हाङ्युक्ना क्षेत्र र धरान–८ शिरिजङ्गा चोकमा सरसफाइ कार्यक्रम हुनेछ। मंसिर १८ गते बिहिबार चासोक पूजा, हाङ्युक्ना सरसफाइ तथा शिरिजङ्गा सालिकमा माल्यार्पण कार्यक्रमसँगै भानुचोकबाट र्याली निकालिनेछ। बेलुकी तङ्सिङ अनुष्ठान गरिने चुम्लुङका अध्यक्ष तीर्थराज मादेम्बाले बताए।
उत्सवको औपचारिक उद्घाटन मंसिर १९ गते शुक्रबार गर्ने तयारी छ। मंसिर २० गते शनिबार केलाङ (च्याब्रुङ) नाच, यलाङ र पालामजस्ता सांस्कृतिक प्रस्तुति गरिनेछ भने मंसिर २१ गते आइतबार याक्थुङ समुदायका परम्परागत खेलकुद कार्यक्रम सञ्चालन हुनेछ।
मंसिर २२ गते सोमबार समापन समारोहसँगै आदिवासी जनजाति महासंघमा आवद्ध विभिन्न संस्थाहरूले संयुक्त सांस्कृतिक प्रस्तुतिसमेत गर्ने चुम्लुङले जनाएको छ। लिम्बू समुदायले मानवलाई खेतीपाती सिकाउने देवी सिबेरा एक्थुम्मा र सिबेरा याबुङ्केक्माप्रति कृतज्ञता व्यक्त गर्दै नयाँ अन्न पहिलोपटक देवी–देवतामा अर्पण गर्ने परम्परालाई न्वागी अर्थात् चासोकको प्रारम्भ मानिन्छ।
चुम्लुङका अनुसार चासोक तङ्नाम धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको मात्र होइन, लिम्बू समुदायको पहिचान, एकता र गौरव झल्काउने महत्वपूर्ण पर्व पनि हो। अध्यक्ष मादेम्बाले प्रकृति, मेहनत, कृतज्ञता र सामाजिक सद्भावका मूल्यहरूले चासोक तङ्नामलाई अझ अर्थपूर्ण बनाएको जनाएको विज्ञप्तिमा उल्लेख छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!