प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको प्रक्रिया मंसिर २० देखि, यस्तो छ कार्यतालिका

प्रतिनिधिसभा निर्वाचन : समानुपातिकतर्फको प्रक्रिया मंसिर २० देखि, यस्तो छ कार्यतालिका

काठमाडौँ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम यही मंसिर २० गतेदेखि सुरु हुने भएको छ। निर्वाचन आयोगले आइतबार कान्तिपथस्थित आयोगको कार्यालयमा ‘समानुपातिक निर्वाचन अधिकृतको कार्यालय’ स्थापना गरेसँगै चुनावी प्रक्रिया औपचारिक रूपमा अघि बढेको हो।

निर्वाचन आयोगद्वारा स्वीकृत कार्यक्रम अनुसार, समानुपातिक प्रणालीमा भाग लिन चाहने राजनीतिक दलहरूले मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते अपराह्न ४ बजेसम्म निवेदन पेस गर्नुपर्नेछ। आयोगले मंसिर २४ गते बिहान १० देखि अपराह्न ४ बजेसम्म निवेदन पेस गर्ने राजनीतिक दलहरूको नामावली प्रकाशन गर्नेछ। त्यसपछि राजनीतिक दलहरूले पुस १३ र १४ गते उम्मेदवारको बन्दसूची पेस गर्नुपर्नेछ भने उम्मेदवारहरूको बन्दसूचीको अन्तिम प्रकाशन माघ २० गते हुनेछ।

समानुपातिक निर्वाचन अधिकृतको कार्यालयको उद्घाटन कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले गरेका थिए। समानुपातिकतर्फको निर्वाचन अधिकृतको जिम्मेवारी आयोगका सचिव महादेव पन्थ र सहायक निर्वाचन अधिकृतको जिम्मेवारी सहसचिव यज्ञप्रसाद भट्टराईलाई दिइएको छ। यस प्रणालीको व्यवस्थापनका लागि ४१ जना कर्मचारी खटिने आयोगले जनाएको छ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले राष्ट्रिय तथ्यांक कार्यालयको सहयोगमा जातीय, भौगोलिक तथा लैंगिक समूहको प्रतिनिधित्व सुनिश्चित गर्न सूत्रात्मक पद्धति अपनाइने भन्दै यसमा सबैको भरोसा रहने विश्वास व्यक्त गरे।

विद्यमान कानुन अनुसार प्रतिनिधिसभाका कुल २७५ सदस्यमध्ये ११० जना समानुपातिक प्रणालीबाट र १६५ जना प्रत्यक्ष (पहिलो हुने निर्वाचित हुने) प्रणालीबाट चुनिनेछन्। प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन कार्यक्रम भने आगामी माघ ६ गते सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्