लोड हुँदैछ...

मेनु

तीन करोड जनताको ‘राष्ट्रिय फौज’ बनाउनुपर्छ : प्रचण्ड

तीन करोड जनताको ‘राष्ट्रिय फौज’ बनाउनुपर्छ : प्रचण्ड

विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशी हस्तक्षेप र राष्ट्रिय संकटको सामना गर्न सेना र प्रहरी मात्र पर्याप्त नहुने भन्दै ३ करोड नेपाली जनताको ‘राष्ट्रिय फौज’ तयार गर्नुपर्ने बताएका छन् ।

सोमबार विराटनगरमा आयोजित पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले नेपालसँग ठूला शक्ति राष्ट्रहरूसँग लड्नका लागि मिसाइल वा अत्याधुनिक हतियार बनाउने सामथ्र्य नभएको, तर जनताको तागत भने रहेको बताए ।

‘हाम्रो सेनाले सायद चाहेर पनि हाम्रा ऐतिहासिक धरोहर बचाउन सकेन । राष्ट्रिय स्वाधिनताको रक्षाका लागि सेना वा प्रहरीले मात्र पुग्दो रहेनछ,’ प्रचण्डले भने, ‘अहिले तत्काल ठूला शक्तिसँग लड्न मिसाइल बनाउन सक्ने तागत हामीसँग छैन । तर, ३ करोड नेपाली जनताको राष्ट्रिय फौज बनाउन सक्ने तागत छ । यदि त्यस्तो भयो भने दुनियाँको कुनै पनि शक्तिले नेपाललाई हराउन सक्दैन ।’

प्रचण्डले भदौ २४ गते भएको घटनालाई ‘असाधारण संकट’ को संज्ञा दिए । उनले उक्त दिन ऐतिहासिक धरोहरहरु जलेर ध्वस्त भएको र देश झन्डै दुई दिनसम्म राज्यविहीनताको अवस्थामा पुगेको दाबी गरे । ‘त्यो विध्वंस र षड्यन्त्रले नेपाल असाधारण संकटमा गयो । त्यसको साक्षी म र माधवकुमार नेपाल थियौं,’ उनले भने, ‘नारायणहिटी सरसफाइ भएर राजा ल्याउने वा सेनाले सत्ता लिने भन्ने खालका सन्त्रासको परिस्थिति सिर्जना भएको थियो ।’ उनले अहिले पनि राष्ट्र संकटमै रहेको उल्लेख गरे ।

प्रचण्डले जेनजीको आन्दोलनले पुराना राजनीतिक दलहरुलाई झकझक्याएको स्वीकार गरे । उनले भने, ‘जेनजी पुस्ताका युवाहरुको आन्दोलनले हामीलाई आत्मसमीक्षा गर्न प्रेरित गर्यो । कहाँ गल्ती भयो भनेर सोच्न बाध्य बनायो ।’

अब विचार बुढो र तन्नेरी नहुने भन्दै उनले छोराछोरी र नातिनातिना पुस्तासँग सिक्न तयार हुनुपर्ने बताए । ‘हामी धेरै पछि परिसकेका छौं । अब जेनजीहरुसँग वार्ता र संवाद गरौं, सबै आफैंले जानेजस्तो नगरौं,’ प्रचण्डले भने, ‘अहिले जेनजीहरुले हाम्रो अभिभावक नेपाली कम्युनिष्ट पार्टी नै हो भन्दै प्रवेश गरिरहेका छन् ।’

प्रचण्डले वर्तमान सरकारलाई चुनावी सरकारको हैसियतमा मात्र रहन चेतावनी दिए । उनले चुनाव गराउने म्यान्डेट पाएको सरकारले दीर्घकालीन असर पर्ने खालका सन्धि सम्झौता गर्न नहुने बताए । ‘यदि यो सरकारका मन्त्रीहरुले दीर्घकालीन खालका सन्धि सम्झौता अगाडि बढाउँछन् भने त्यो म्यान्डेट विपरित हुन्छ,’ उनले भने, ‘हामी चुनावमा होमिसक्यौं । सरकारले स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनाओस् ।’

सम्बोधनको अन्त्यमा प्रचण्डले आफ्नो उमेरमाथि प्रश्न उठाउनेहरुलाई कडा चुनौती दिए । ‘मसँग दौडिने कोही छ ? मर्निङ वाक कति गर्ने हो, म तयार छु । हेभी एक्सरसाइज कति गर्ने हो, म युवाहरुसँग गर्न चाहेको छु,’ प्रचण्डले भने, ‘भुईंफुट्टा, इतिहासविहीन र विचारविहीनले गरेको हो–हल्लाको पछि नलाग्नुहोला ।’ उनले १६ वटा पार्टी मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले अब वैज्ञानिक समाजवाद, आर्थिक समृद्धि र रोजगारी सिर्जनाको नेतृत्व गर्ने दाबी समेत गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds