लोड हुँदैछ...

मेनु

वैकल्पिक शक्तिहरूलाई एकजुट भएर अगाडि बढ्न मन्त्री घिसिङको आह्वान

वैकल्पिक शक्तिहरूलाई एकजुट भएर अगाडि बढ्न मन्त्री घिसिङको आह्वान

धरान । ऊर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका परिकल्पनाकार कुलमान घिसिङले नयाँ वैकल्पिक शक्तिहरूले एकअर्कालाई आलोचना नगरी, एकजुट भएर अघि बढ्न आवश्यक रहेको बताएका छन्।

सुनसरीको धरान–१५, श्यामचोकस्थित बौद्ध गुम्बामा आयोजित धार्मिक समारोहमा सोमबार घिसिङले देश परिवर्तनको समयमा नयाँ वैकल्पिक शक्ति भन्ने व्यक्तिहरूले एकजुट भएर काम गर्नुपर्ने बताए ।

आफैं पनि एउटा वैकल्पिक शक्ति बन्ने बताउँदै घिसिङले संस्कृतिक पार्टीका अध्यक्ष रहेका धरानका प्रमुख हर्क साम्पाङलाई पनि एकताबद्ध हुन आवहान गरे । साम्पाङले गरेको आलोचनाको संकेत गर्दै मन्त्री घिसिङले सामाजिक सञ्जालमा देखिएका विवादहरूलाई नजरअन्दाज गरी एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

”अब एउटाले अर्कोलाई गाली गर्ने होइन, मिलेर देशलाई समृद्ध बनाउने दिशामा अघि बढ्नुपर्छ” उनले भने । मन्त्री घिसिङले देशको वर्तमान राजनीतिक अवस्था गम्भीर रहेको उल्लेख गर्दै, यसमा राजनीतिक व्यक्तिहरू र नेतृत्व गर्नेहरूको बढी भूमिका रहेको बताए।

“देशले सुशासन, भ्रष्टाचारमुक्ति, सामाजिक न्याय र युवाहरूलाई रोजगारी उपलब्ध गराए मात्र सही दिशामा अघि बढ्छ” उनले भने, “लामो समयसम्म निराशा र आक्रोशमा रुमलिएको देशको विस्फोट अस्तिको जनजागरण आन्दोलन थियो। सही व्यक्ति सही समयमा सही ठाउँमा भए मात्रै सबै कुरा ठिक हुन्छ।”

उज्यालो नेपाल अभियानको उद्देश्यको स्पष्ट पार्दै मन्त्री घिसिङले भने कि यो अभियान केवल बत्ती बाल्ने काम नभई, मनभित्रको उज्यालो, शिक्षाको उज्यालो, सुशासन र भ्रष्टाचारमुक्त देश निर्माणको अभियान हो। कार्यक्रममा ३३ केभी हाइटेन्सनबाट पीडित संघर्ष समितिले मन्त्री घिसिङलाई ज्ञापनपत्र बुझाएको थियो। साथै, उनले शिलान्यास गरेको गुम्बाको भवनको प्रस्तावना पत्र पनि गुम्बाको तर्फबाट प्रदान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds