दोस्रो दिन पनि घट्यो नेप्से सूचक

दोस्रो दिन पनि घट्यो नेप्से सूचक

विराटनगर । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात आइतबार, घटेर बन्द भएको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

सोमबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको थियो। तर, बजारमा त्यसले कुनै प्रभाव पार्न सकेन।

यस दिन नेप्से परिसूचक ४.२८ अंक घटेर २६४५.२४ विन्दुमा झरेको छ। त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स १.७२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७६ अंक घटेको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। आइतबार ७ अर्ब ८ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२५ स्टकको ६० हजार ६२० पटकको कारोबारमा ४ अर्ब ७१ करोड ६३ लाख ८३ हजार रुपैयाँबराबरको १ करोड ८ लाख ६० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

यस दिन ४ स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सागर डिष्टिलरी, स्वस्तिक लघुवित्त वित्तीय संस्था, झापा इनर्जी र श्रीनगर एग्रीटेक इन्डष्ट्रीजको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सागर डिष्टिलरीको शेयर निरन्तर १७ औँ दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, यस दिन ग्रीन भेन्चर्सका शेयरमूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने नारायणी डेभलपमेन्ट बैंकको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन यूनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २७ करोड १० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन हिमालयन रि इन्स्योरेन्सको करिब साढे १५ करोड रुपैयाँबराबरको शेयर किनबेच भएको छ भने बन्दीपुर केबलकार एण्ड टुरिजमको कारोबार रकम साढे १४ करोड रुपैयाँ नाघेको छ।

बजारका १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। यस दिन विकास बैंक, वित्त, जलविद्युत, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्