लोड हुँदैछ...

मेनु

बालुवाटारमा युवा पस्दा हेलिकप्टरमा भाग्ने ओलीले हाम्रा संयोजकसँग ‘मर्निङ वाक’ गरुन् : रावल

बालुवाटारमा युवा पस्दा हेलिकप्टरमा भाग्ने ओलीले हाम्रा संयोजकसँग ‘मर्निङ वाक’ गरुन् : रावल

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले गुण्डुमा बसेर युवा र आफ्नो पार्टीलाई धम्क्याएको भन्दै आपत्ती जनाएका छन् ।

सोमबार नेपाली कम्युनिष्ट पार्टीले विराटनगरमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै रावलले भदौ २४ गतेको घटना र वर्तमान राजनीतिक अवस्थालाई लिएर ओलीको आलोचना गरेका हुन् ।

रावलले केपी ओलीले आफ्नो पार्टीलाई ‘बुढाहरुको पार्टी’ भनेकोप्रति टिप्पणी गर्दै शारीरिक क्षमता परीक्षण गर्न चुनौती दिए । ‘उहाँ (केपी ओली) ले नेपाली कम्युनिस्ट पार्टी बुढाहरूको पार्टी हो भनेर भन्नुभएछ । मलाई अचम्म लाग्यो । मैले उहाँलाई केही वर्षदेखि हेरेको, कयौं दिन त उहाँ बालुवाटारमै सुतिरहनुहुन्थ्यो,’ रावलले भने, ‘अब साँच्चै गर्ने नै हो भने त, हामीसँग प्रतिस्पर्धा गर्नुपरेन । हाम्रो पार्टीको संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग विराटनगरमा हिँडौं न त । कसले हिंड्दो रहेछ बढी । अनि के को बुढा ? के को तन्नेरी ?’

नेता रावलले भदौ २३ र २४ गतेको आन्दोलनको प्रसंग कोट्याउँदै तत्कालीन समयमा प्रधानमन्त्री ओली गैरजिम्मेवार बनेको आरोप लगाए । युवा पुस्ताले भ्रष्टाचार, सुशासन र सामाजिक सञ्जालको प्रतिबन्ध फुकुवाको माग गर्दा बालुवाटारबाट दमनको आदेश दिएका ओली अन्तिममा हेलिकप्टरमा भागेको उनको भनाइ छ ।

‘उहाँले राष्ट्रिय सुरक्षा समितिको बैठक बोलाउनु भएन । बालुवाटारबाट दमनको कुरा गरिरहनुभयो,’ रावलले भने, ‘जब बालुवाटारमा युवाहरु प्रवेश गरे, उहाँ हेलिकप्टरबाट भागेर बेपत्ता हुनुभयो । उहाँलाई न देशको सुरक्षाको चिन्ता भयो, न जनताको ।’ रावलले ओलीकै कारण १० वर्षको युद्धमा नभएको क्षति ५ घण्टामा काठमाडौंमा भएको दाबी गरे । ओलीले अहिले ‘गुण्डु निवास’ बाट धम्कीपूर्ण भाषा प्रयोग गरिरहेको उनको भनाइ छ ।

लामो समय एमालेमा काम गरेका कारण पोखराको कास्कीमा आयोजित कार्यक्रममा सम्बोधन गर्ने क्रममा आफ्नो जिब्रो चिप्लिएर ‘एमाले’ शब्द निस्किएको प्रसंगमा रावलले व्यंग्य गरे । ‘मैले धेरै वर्ष काम गरेको कारण नेकपा एमाले भन्ने मेरो जिब्रोबाट गएछ । मैले नाम लिँदा एमालेका नेता तथा कार्यकर्तालाई कति शीतल भएछ । त्यसबाट उनीहरूको हालत स्पष्ट हुन्छ ।

रावलले देशको राष्ट्रियता र सार्वभौमसत्ता कमजोर बन्दै गएको चिन्ता व्यक्त गरे । ‘हाम्रा नदीनाला र जडिबुटीमा हाम्रो अधिकार छैन । हुँदाहुँदा हाम्रा नागरिकमाथिको अधिकार पनि खोसिएला जस्तो भएको छ,’ उनले भने । तत्कालीन नेकपाको दुई तिहाइ बहुमतले राष्ट्रियता मजबुत बनाउने अपेक्षा गरे पनि त्यो पूरा नभएको र १० बुँदे सहमतिसमेत कार्यान्वयन नभएको गुनासो उनले गरे ।

राई, लिम्बू, मधेशी वा बाहुन जे भए पनि सबैभन्दा पहिले नेपाली भएको भन्दै रावलले देशको पहिचान मेटिए कसैको अस्तित्व नरहने बताए । उनले नेपाली कम्युनिष्ट पार्टीमार्फत विश्वसामु नझुक्ने सार्वभौमसत्ता सम्पन्न नेपाल बनाउने उद्घोष गरे ।

रावलले वर्तमान सरकारसँग तत्काल निर्वाचन सम्पन्न गर्न, हराएका गोलीगठ्ठाहरु नियन्त्रणमा लिन र भागेका कैदीबन्दीलाई कानुनी दायरामा ल्याउन माग गरे ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds