विराटनगर । नेपाली कम्युनिष्ट पार्टीका नेता राजेन्द्र श्रेष्ठले पहिचान विरोधी शक्तिलाई भोट दिएका कारण कोशी प्रदेशमा पहिचानसहितको नाम आउन नसकेको टिप्पणी गरेका छन् ।
सोमबार विराटनगरमा पार्टीद्वारा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता श्रेष्ठले कांग्रेस र एमालेजस्ता दललाई भोट दिनु भनेको ‘थारो गाई’ दुहुनु जस्तै निरर्थक भएको बताए ।
नेपालमा किराँत, लिम्बुवान र नेपाल मण्डलजस्ता मानव सभ्यताहरु रहेको उल्लेख गर्दै श्रेष्ठले प्रदेशको नाम नदीनालाको आधारमा नभई सभ्यताको आधारमा हुनुपर्ने जिकिर गरे । ‘यहाँका सभ्यता भनेको मानव समुदायको सभ्यता हो, नदीनालाको होइन,’ उनले भने, ‘जनताले सहादत प्राप्त गरिसक्दा पनि पहिचानलाई स्वीकार नगरिनु दुखद् छ । थारो गाईलाई भोट दिएर दूध आउँदैन ।’
नेता श्रेष्ठले नेपालमा २००७ सालदेखि हालसम्म कुनै पनि सरकारले ५ वर्ष पूरा कार्यकाल चलाउन नसकेको भन्दै वर्तमान संसदीय व्यवस्थाले देशमा समृद्धि ल्याउन नसक्ने ठोकुवा गरे । उनले अब मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र स्थिर सरकार आवश्यक रहेको बताए ।
‘हिजो राजाको छोरा, चाहे उ बहुलाएको नै किन नहोस्, राजा हुने व्यवस्था थियो । तर जनयुद्धकै कारण आज जनताको छोरा कार्यकारी प्रमुख हुन पाएको छ,’ श्रेष्ठले भने, ‘नेपालमा जनयुद्ध नभएको भए गणतन्त्र, समानुपातिकता, धर्मनिरपेक्षता र सामाजिक न्यायको सिस्टम स्थापित हुने थिएन ।’ उनले गणतन्त्रको फल चाख्नेहरुले अहिले जनयुद्ध र यसका उपलब्धिलाई गलत भन्न नमिल्ने तर्क गरे ।
सम्बोधनका क्रममा नेता श्रेष्ठले ‘गुण्डु निवास’ बाट नयाँ पुस्ता (जेनजी) र आफ्नो पार्टीलाई ललकार्ने काम भइरहेको भन्दै आक्रोश पोखे । उनले भने, ‘जेनजीलाई ललकारेकै कारण यति ठूलो आगजनी र हिंसा भयो, जसको सम्पूर्ण जिम्मेवार तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हुन् ।’
उनले भिडन्त गर्न खोज्ने प्रवृत्तिलाई ‘मण्डले प्रवृत्ति’ को संज्ञा दिँदै यसलाई ‘झिंगाले पाखुरा सुर्केको’ जस्तै भएको टिप्पणी गरे । श्रेष्ठले जनआन्दोलन र जनयुद्धको बाटोबाट आएका शक्तिहरुले अब सबै विचारलाई एउटै मालामा उनेर अघि बढ्नुपर्नेमा जोड दिए ।
‘कोशी’ नाम खारेजी पार्टीको बटमलाइन : गोपाल किराँती
सोही सभामा बोल्दै पार्टीका अर्का नेता गोपाल किराँतीले प्रदेशको नाम ‘कोशी’ खारेज गर्नु अब आफ्नो पार्टीको मुख्य लाइन हुने उद्घोष गरे ।
बहुजातीय समाजमा पहिचानको मुद्दालाई मेटाउन नहुने भन्दै किराँतीले चेतावनीपूर्ण शैलीमा भने, ‘पहिचानको कुरालाई खेलवाड गर्नेहरुलाई १ नम्बर प्रदेशबाट लखेटिनेछ ।’ उनले पहिचान विरोधी गतिविधि अब मान्य नहुने बताए ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!