एमालेमा विचारको कुरा गर्नेलाई दास बनाइन्छ : रुपेश खतिवडा

एमालेमा विचारको कुरा गर्नेलाई दास बनाइन्छ : रुपेश खतिवडा

विराटनगर । नेकपा एमाले मोरङका प्रभावशाली नेता तथा पूर्व सचिव रुपेश खतिवडाले एमाले नेतृत्वको चर्को आलोचना गर्दै ‘नेपाली कम्युनिष्ट पार्टी’ नेकपामा प्रवेश गरेका छन्।

विराटनगरको गुद्रीमा सोमबार आयोजित नेकपाको ‘एकता सन्देश सभा’ मा खतिवडाले एमाले परित्याग गरी औपचारिक रूपमा नेकपाको सदस्यता लिएका हुन्। लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका खतिवडाले पार्टी प्रवेश लगत्तै एमाले नेतृत्व र त्यहाँको कार्यशैलीप्रति आक्रोश पोखे।

खतिवडाले एमाले पार्टी अब विधि र पद्धतिमा नभई नितान्त ‘व्यक्तिवादी’ भएको आरोप लगाए। उनले एमालेभित्र इमानदार र वैचारिक नेता–कार्यकर्तालाई टिक्न नसक्ने अवस्था सिर्जना गरिएको दाबी गरे।

‘एमालेभित्र अब विचार र सिद्धान्तको कुरा गर्ने ठाउँ छैन। त्यहाँ कि त नेतृत्वको दास बनेर बस्नुपर्छ, नत्र पार्टी छोडेर जान बाध्य बनाइन्छ,’ खतिवडाले भने, ‘अहिले पनि एमालेभित्र धेरै मानिसहरू उकुसमुकुस भएर बसिरहेका छन्। त्यस्तो निसासिँदो वातावरणमा बस्नु उचित नदेखेर मैले विद्रोह गरेको हुँ।’

खतिवडाले अबको सच्चा कम्युनिष्ट शक्ति ‘नेपाली कम्युनिष्ट पार्टी’ मात्र भएको जिकिर गरे। एमालेको संरचनाले कम्युनिष्ट आन्दोलनको रक्षा गर्न नसक्ने निष्कर्ष सुनाउँदै उनले भने, ‘कम्युनिष्ट पार्टी बचाउन र मुलुकको शासन सत्ता सही नेतृत्वको हातमा ल्याउनका लागि म यो पार्टीमा समाहित भएको हुँ।’

उनलाई सभामा उपस्थित नेकपा संयोजक प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाललगायतका शीर्ष नेताहरूले खादा र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्