चालु वर्षमा मेची भन्सारबाट आयात बढ्दा निर्यात घट्यो

चालु वर्षमा मेची भन्सारबाट आयात बढ्दा निर्यात घट्यो

विर्तामोड । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो चार महिनामा पूर्वी नाका काँकरभिट्टाबाट १६ अर्ब रुपैयाँभन्दा बढीको सामान आयात भएको छ ।

गत वर्षको सोही अवधिको तुलनामा आयात १२.१२ प्रतिशतले बढेको मेची भन्सार कार्यालयले जनाएको छ ।

सोही अवधिमा निर्यात भने ८ अर्ब ९६ करोड रुपैयाँमा झरेको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिए। निर्यात ४.१२ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तै अवधिमा ८ अर्ब ३० करोड रुपैयाँबराबरको सामान निर्यात भएको थियो ।

भन्सार कार्यालयले चार महिनामा आयात–निर्यातबाट कुल ५ अर्ब ४६ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आयातबाट ५ अर्ब ३३ करोड ६७ लाख रुपैयाँ र निर्यातबाट १२ करोड ३४ लाख रुपैयाँ राजस्व उठेको हो । राजस्व असुलीमा भने यो वर्ष १५.६६ प्रतिशत वृद्धि देखिएको छ।

निर्यात हुने प्रमुख १० वस्तुमध्ये अलैँची, भेनियर सिट, कुकुर–बिरालोको खाना, अदुवारसुठो, काउली, बन्दाकोभी, ब्रोकाउली र मुसुरो दालको निर्यात बढेको छ। तर, चिया, प्लाइउड, अम्रिसो र फलामे पाताको निर्यात घटेको कार्यालयले जनाएको छ ।

अलैँची निर्यातमा उल्लेखनीय वृद्धि हुँदै ३ अर्ब ९७ करोड रुपैयाँको निर्यात भएको छ । जुन गत वर्षको तुलनामा १०९ प्रतिशतले बढी हो । भेनियर सिटको निर्यात पनि १३५.८ प्रतिशतले बढेर ३८ करोड रुपैयाँ पुगेको छ ।

चिया निर्यात भने झण्डै एक तिहाइले घटेर १ अर्ब ३७ करोडमा सीमित भएको छ। प्लाइउड निर्यात ५२.७ प्रतिशतले घटेको छ भने अम्रिसो निर्यातमा पनि २३.९ प्रतिशत गिरावट आएको छ ।

मुसुरो दालको निर्यात भने सबैभन्दा बढी ४८१ प्रतिशतले बढेर ९ करोड रुपैयाँ पुगेको छ । अदुवा सुठो, काउली–बन्दाकोभी–ब्रोकाउलीजस्ता कृषि उत्पादनको निर्यात पनि वृद्धि भएको कार्यालयको तथ्याङ्कले देखाएको छ।

सो अबधिमा फलामे पाताको निर्यात भने ९७.३ प्रतिशतले घट्दै ३ करोड ७८ लाख रुपैयाँमा झरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्