विराटनगर । नेकपा एमालेभित्र ‘एकल व्यक्ति र एकल सोच’ हाबी भएको भन्दै एमाले मोरङ जिल्ला कमिटीका पूर्व सचिव रुपेश खतिवडा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गर्ने भएका छन्। विद्यार्थी राजनीतिबाट उदाएर जिल्लाको नेतृत्व तहमा पुगेका खतिवडाले एमाले नेतृत्व अध्यक्ष केपी ओली माथि ‘आन्तरिक लोकतन्त्र मासेको’ र पार्टीलाई ‘गुटको अखडा’ बनाएको गम्भीर आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन्।
आज विराटनगरमा आयोजना हुने नेकपाको ‘सन्देश सभा’ मार्फत उनले औपचारिक रूपमा नेकपाको सदस्यता लिँदैछन्। उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह–संयोजक माधवकुमार नेपाल र नेता भीम रावलले पार्टी प्रवेश गराउने भएका छन् ।
खतिवडाले एमाले परित्याग गर्नुको मुख्य कारण पार्टीभित्रको ‘डर–संस्कृति’ र ‘कठोर केन्द्रीकरण’ लाई औंल्याएका छन्। उनले एमालेको वर्तमान नेतृत्वले फरक मत राख्नेहरूलाई निषेध गर्ने नीति लिएको बताए। ‘एमाले पार्टी अब विधि र पद्धतिमा होइन, एकल व्यक्ति, एकल सोच र एकल निर्णयका आधारमा चल्न थाल्यो,’ खतिवडाले भने, ‘पार्टीभित्र निर्णय प्रक्रियामा कुनै बहस र छलफल हुँदैन, केवल केपी ओलीको निर्देशन मात्र हाबी देखिन्छ। राजनीतिक पार्टी घोषणापत्रले मात्र होइन, आन्तरिक लोकतन्त्रले बलियो हुन्छ, जुन एमालेमा अहिले ध्वस्त भइसकेको छ ।’
उनले एमालेभित्र फरक आवाज सुन्ने राजनीतिक संस्कार समाप्त भएको दाबी गरे। असन्तुष्टि राख्ने वा बोल्ने नेताहरूलाई निष्क्रिय बनाउने, अपमानित गर्ने र अन्ततः पार्टीबाटै बाहिरिन बाध्य पार्ने क्रम चलिरहेको भन्दै उनले त्यही ‘एक व्यक्ति, एक पार्टी’ को संरचना र दास मनोवृत्ति स्वीकार गर्न नसकेर आफूले विद्रोह गरेको प्रष्ट पारे।
एमालेको संरचनाले भविष्य सम्हाल्न नसक्ने निष्कर्ष निकाल्दै खतिवडाले माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयुक्त नेतृत्वमा बनेको नेकपालाई ‘सच्चा वैकल्पिक शक्ति’ का रूपमा चित्रण गरेका छन्। एमालेमा इमानदार कार्यकर्ता, बौद्धिक वर्ग र युवा पुस्ताको भविष्य अन्धकार देखेपछि आफू सन्तुलित नेतृत्वको अभ्यास गरिरहेको नेकपामा प्रबेश गर्न लागेको उनले बताए। खतिवडालाई नेकपामा ल्याउनका लागि नेता भीम रावलले विशेष समन्वयकारी भूमिका निर्वाह गरेका थिए।






1 प्रतिक्रिया
1 प्रतिक्रिया
गुड गर्नु भाे ।
प्रतिक्रियाहरू बन्द छन्।