विराटनगर। नेकपा एमालेको ११ औँ महाधिवेशनका लागि प्रतिनिधि छनौटको काम कोशी प्रदेशमा लगभग सकिएको छ । हालसम्म उदयपुरको केही निर्वाचन क्षेत्रको बाहेक सबैजसो निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ । यद्यपि एमालेको प्रतिनिधि छनौटमा स्पष्ट दुई धार देखियो । पार्टी अध्यक्ष केपी शर्मा ओली पक्ष र वरिष्ठ नेता ईश्वर पोखरेल पक्षको दुई धार देखा पर्दा संस्थापनले कतिपय ठाउँमा पेलेरै जान खोज्यो ।
भोजपुरमा सहमतिको नाममा सुरुमा प्रतिनिधि नै दिइएन । पछि पोखरेल पक्षका २ जनालाई समेटेर ८ जना प्रतिनिधि फाइनल गरियो । ‘सबै पार्टी, कमिटी, सत्ता, पालिका, वडा उनीहरूको कब्जा छ नि त । यत्रो बाबजुद पनि निर्वाचन गराएनन्,’ भोजपुरका पोखरेल पक्षीय एक एमाले नेताले भने ।
ओली पक्षहरूसँग साधन, स्रोत, शक्ति सबै थियो । ‘संवैधानिक सत्ता, एक खालको हिजो अख्तियारदेखि लिएर विभिन्न संवैधानिक निकायहरू त अझै पनि केपी ओलीकै हातमा छ नि त । त्यो सत्ताको चरम दुरुपयोग हुँदैछ, गरे पनि यो बीचमा फेरि । आउने इलेक्सनमा टिकटदेखि लिएर सारा चिज चलेको छ,’ ती नेताले भने, ‘सबलाई टिकट, उदारो आश्वासनमा टिकट बाँड्दाखेरि पनि धेरैलाई पालिका ९अध्यक्ष० टिकट बाँडे, मेयर टिकट बाँडे, वडा अध्यक्ष टिकट बाँडे, सांसदको टिकट बाँडे ।’
केन्द्रीय कार्यालयमै पार्टीको स्थायी कमिटी सदस्य कर्ण थापामाथि कुटपिट भएको घटना सम्झदै ती नेताले भने, ‘यत्रो प्रभावशाली मान्छे, हिजो ओलीसँग जोडिएको त्यत्रो पुरानो मान्छे, आज फरक विचार राख्यो भन्दैमा उसलाई मिसबिहेभ (दुव्र्यवहार) गरे भने सामान्य कार्यकर्ताहरुलाई के के गरे होलान् ?।’
त्यसका बाबजुद पनि कोशी प्रदेशमा आफ्नो समूहले उल्लेख्य प्रतिनिधिहरू जिताएको उनको दाबी छ । ‘लगभग बराबर जस्तो हुन्छ,’ उनले दाबी गरे । तर, प्राप्त तथ्यमा बराबर मत नभएपनि कोशी प्रदेशबाट पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षको जबर्जस्त प्रभाव भने परेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको गृह प्रदेश भएपनि कोशीमा पोखरेल पक्षबाट सोलुखुम्बु जिल्लामा बाहेक सबै जिल्लाबाट उल्लेख्य प्रतिनिधिहरू चयन भएका छन् । यद्यपि आइतबार अबेरसम्ममा पनि सबै परिणाम आइनसकेको कारण कति संख्या भन्ने खुल्न नसकेको बताइन्छ ।
पोखरेल पक्षले ओखलढुंगामा क्लिन स्वीप गरेको छ भने ओली पक्षले सोलुखुम्बुमा क्लिन स्वीप गरेको जनाइएको छ । तर, संस्थापन पक्षले ओखलढुंगाका प्रतिनिधि चयनलाई मान्यता नदिने जनाएको छ ।
एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाका अनुसार सोलुखुम्बु, खोटाङ, भोजपुर, तेह्रथुम, ताप्लेजुङ, पाँचथर र इलाम गरी ७ जिल्लामा प्रतिनिधि छनोट सर्वसम्मत भएको छ । स्रोतले ती सहमति भएका जिल्लामध्ये खोटाङ, इलाम, ताप्लेजुङमा पोखरेल पक्ष बलियो देखिएको छ भने सोलुखुम्बु र भोजपुरमा ओली पक्ष बलियो देखिएको छ । तेह्रथुममा भने सबै एकताबद्ध हुने र केन्द्रमा कसलाई भोट हाल्ने विषयमा पनि एक भएरै निर्णय गर्ने सहमति गरेको त्यहाँका नेताहरुले बताएका छन् । पाँचथरमा पनि मिश्रित परिणाम आएको स्रोतको दाबी छ ।
उता, निर्वाचन भएको झापा, धनकुटा र संखुवासभामा ओली पक्ष बलियो देखिँदा मोरङ र सुनसरीमा आधा–आधा बाँडिएको नेताहरुले बताएका छन् । यस्तै उदयपुरमा सबै परिणाम नआइसकेको भएपनि पोखरेल पक्षका ६ जनाले जित्ने सो पक्षको विश्वास छ । ओखलढुंगामा भने पोखरेल पक्षका सबै विजयी भएका छन् ।
तेह्रथुममा सर्वसम्मत भएपनि लछुमन तिवारी, तेजमान कन्दङ्वालगायतको भूमिका इतर पक्षमै रहने सो पक्षको दाबी छ । यद्यपि तिवारीले आफूहरू एकताको पक्षमा रहेको बताएका छन् । धनकुटामा नेता राजेन्द्र्र राईको प्रभाव छ । राईले ओली पक्षका हुन् । भोजपुरमा एमालेका नेता तथा कोशी इन्चार्ज शेरधन राईको गृह जिल्ला हो । यद्यपि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फ्याक्टरले काम गर्दा त्यहाँ पनि मत बराबर हुनसक्ने पोखरेल पक्ष दाबी गर्छ ।
सुनसरीमा २५ जना प्रतिनिधिमा आधा– आधा हुने दुवै पक्षको दाबी छ । त्यहाँ एमाले सचिव भीम आचार्य र भगवती चौधरीसमेत पछिल्लो समय अध्यक्ष ओलीसँग चिढिएको स्रोतको दाबी छ । समग्रमा अध्यक्ष ओली पक्षको एकछत्र उपस्थिति तोड्दै पोखरेल समूहले ४० प्रतिशतभन्दा बढी प्रतिनिधि आफ्नो पक्षमा पारेर अध्यक्ष ओलीलाई ६० प्रतिशतमा सीमित गर्ने अवस्था बनेको बताइएको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।