एमाले मोरङका पुर्वसचिव रुपेश खतिवडा नेकपामा प्रवेश गर्दै

एमाले मोरङका पुर्वसचिव रुपेश खतिवडा नेकपामा प्रवेश गर्दै


विराटनगर । लामो समयदेखि नेकपा एमालेको राजनीतिमा सक्रिय रहँदै आएका एमाले मोरङ जिल्ला कमिटी पुर्व सचिव रुपेश खतिवडा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्ने भएका छन्। विद्यार्थी राजनीतिबाट उदाएर जिल्लाको नेतृत्व तहमा पुगेका खतिवडाको पार्टी परिवर्तनको निर्णयले मोरङको राजनीतिमा तरंग सिर्जना गरेको छ।

आज विराटनगरमा हुने नेकपाको सन्देससभामा उनलाई नेकपाका नेताहरुले स्वागत गर्न लागेका हुन् । खतिवडाको राजनीतिक यात्रा २०४५ सालमा अनेरास्ववियुको सदस्यता प्राप्तिसँगै सुरु भएको थियो। मोरङको अरनिको मा.वि. बाट एसएलसी उत्तीर्ण गरेपछि उनी दमक बहुमुखी क्याम्पस हुँदै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको विद्यार्थी राजनीतिमा होमिएका थिए।

२०५६ देखि २०५७ सम्म अनेरास्ववियु त्रिवि कमिटी उपाध्यक्ष रहेका उनी २०६० सालमा त्रिवि स्ववियु सचिवमा निर्वाचित भएका थिए। सोही समयमा उनले अनेरास्ववियुको केन्द्रीय कमिटी सदस्य तथा शैक्षिक विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेका थिए।

विद्यार्थी राजनीति पछि पार्टी राजनीतिमा सक्रिय खतिवडाले २०६५ सालदेखि २०७८ सम्म एमाले मोरङ जिल्ला कमिटीको सचिवालय सदस्यका रूपमा विभिन्न जिम्मेवारी ९कार्यालय उपसचिव, विद्यार्थी फाँट इन्चार्ज, स्कुल विभाग प्रमुख भएका थिए । उनी २०७८ पुस १ गतेदेखि हालसम्म एमाले मोरङ जिल्ला कमिटी सचिवको जिम्मेवारीमा थिए।

रुपेश खतिवडा गणतन्त्र प्राप्तिको आन्दोलनमा कठोर संघर्ष गरेका नेता हुन् । २०६१ माघ १९ को शाही कदमपछि प्रतिगमन विरुद्धको आन्दोलनमा उनी पटक–पटक पक्राउ परेका थिए । विशेष गरी २०६२ माघ २० गते कीर्तिपुरबाट पक्राउ परेका उनलाई वडा प्रहरी कार्यालय कीर्तिपुरमा ६८ दिनसम्म थुनामा राखिएको थियो।

सो क्रममा बन्द कोठाभित्र बिजुलीको तार, पाइप र बुटले निर्घात कुटपिट गरिएको र अमानवीय यातना दिइएको विवरण उनको राजनीतिक जीवनमा उल्लेख छ। राष्ट्रिय मानवअधिकार आयोग र संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालयको पहलमा उनी थुनामुक्त भएका थिए।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्