विराटनगर । ‘जेनजी आन्दोलन’ का क्रममा विराटनगरमा सरकारी कार्यालयहरूमा आगजनी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
भदौ २४ गते भएको उक्त आन्दोलनका क्रममा तोडफोड तथा आगजनीमा संलग्न रहेको आरोपमा उनीहरूलाई आज साँझ पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा आवास पौडेल, अरुण साह, राजीव यादव, महेश नेपाल र ताजिम अन्सारी रहेको मोरङ प्रहरीको डिएसपी हरिनन्दन चौधरीले जानकारी दिए । प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरू प्रमुख राजनीतिक दलमा आबद्ध कार्यकर्ता हुन् । जसमध्ये पौडेल नेपाली कांग्रेस, साह नेकपा (एमाले) र अन्सारी तत्कालीन माओवादी निकट रहेको बताइएको छ ।
पक्राउ परेका पाँचै जनालाई हाल जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा राखिएको छ । उनीहरूमाथि ‘अपराधिक उपद्रह’ मुद्दा चलाउने प्रहरीको तयारी छ । यसका लागि भोलि (सोमबार) मोरङ जिल्ला अदालतमा उपस्थित गराई म्याद थप गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाइने प्रहरीले जनाएको छ ।
भदौ २४ गते भएको ‘जेनजी आन्दोलन’का क्रममा सरकारी कार्यालय तोडफोड तथा आगजनी गर्नेहरूको प्रहरीले सूची नै तयार पारेको छ । सोही सूची र अभियान अन्तर्गत प्रहरीले घटनामा संलग्नहरूलाई पक्राउ गर्न सुरु गरेको हो ।
भदौ २४ गतेको घटनामा संलग्नहरुको फोटो र भिडियोको आधारमा पहिचान गर्दै प्रहरीले पक्राउ अभियान चलाएको हो । यसअघि पनि प्रहरी चौकी र गाडीहरूमा आगजनी गरेको आरोपमा प्रहरीले २१ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइसकेको छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।