कोशी अस्पताल निर्माणको काम छिटो सक्न मन्त्री घिसिङको निर्देशन

कोशी अस्पताल निर्माणको काम छिटो सक्न मन्त्री घिसिङको निर्देशन

विराटनगर । शहरी विकास एवं ऊर्जामन्त्री कुलमान घिसिङले सुस्त गतिमा काम भइरहेको विराटनगरस्थित कोशी अस्पतालका दुईवटा भवन निर्माणको काम तीब्र बनाउन निर्देशन दिएका छन् ।

आइतबार विराटनगर आएर अस्पतालको निर्माणाधिन भवनको निरीक्षणमा पुगेका मन्त्री घिसिङले निर्माण कार्य तीब्र बनाउन निर्देशन दिएका हुन् ।

कोशी अस्पतालमा पुराना भवन भत्काएर ७५९ शय्याको दुईवटा नयाँ भवन शहरी विकास मन्त्रालय मातहतको संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय मोरङमार्फत निर्माण भइरहेको छ । निर्माणमा ढिलाई हुँदा अस्पतालको सेवा प्रवाहमा समस्या रहेको छ ।

मन्त्री घिसिङले आयोजना व्यवस्थापन, अस्पताल प्रशासन र निर्माण व्यवसायीसँग छलफल गर्दै भवन निर्माणको तीब्र बनाउन तीन सिफ्टमा काम गर्न निर्देशन दिए । काममा लापरबाही भएको पाइएमा जिम्मेवार सबैलाई कारबाही गर्ने चेतावनी दिँदै उनले सम्बन्धित कार्यालय र ठेकेदारलाई गम्भीर हुन भनेका छन् ।

अस्पताल प्रशासनले भवन नसकिँदा स्वास्थ्य सेवाको प्रदानमा असहजता भएको जानकारी मन्त्री घिसिङलाई गराएको थियो । निर्माणाधीन ५०० शैयाको मेडिकल भवनको भौतिक प्रगति हाल ३५ प्रतिशत पुगेको छ ।

पुस २०७९ मा २ अर्ब ४६ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको उक्त भवन ३६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेकोमा एक वर्षमा म्याद सकिँदैछ । निर्माण व्यवसायीलाई हालसम्म ७४ करोड ९८ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।

यसैगरी, इसियुसहित सर्जिकल तथा न्यूरो सेवा उपलब्ध गराउन २५९ शय्याको अर्को भवन असार २०७८ मा रमण–भूमि–विआइपिएल जेभीसँग ठेक्का सम्झौता भएको थियो। यो भवनको भौतिक प्रगति ५० प्रतिशत पुगेको छ। म्याद थपसहित सम्झौताको अवधि गत कात्तिकमै सकिएको थियो । व्यवसायीले अर्को म्याद थपको निवेदन दिएको कार्यालयले जनाएको छ ।

ठेक्का सम्झौता रकम ३८ करोड ८७ लाख रुपैयाँ रहेकोमा १६ करोड ३१ लाख भुक्तानी भइसकेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्