जनकपुर । पार्टीको निर्देशनविपरीत मधेश प्रदेशमा नेकपा एमाले नेतृत्वको सरकरार मन्त्री बनेकी सांसद कञ्चन विच्छालाई प्रदेशसभा सदस्य पदबाट हटाउन राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश सभालाई पत्राचार गरेको छ ।
राप्रपाबाट एक मात्र प्रदेशसभामा समानुपातिक सांसद रहेकी विच्छा गत २४ कात्तिकमा संविधानको धारा १६८ को ३ बमोजिम बनेका मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारमा विनाविभागीय मन्त्री बनेकी थिइन् ।
प्रदेशसभाका दुईतिहाई सांसदले संविधानको धारा १६८ को २ अनुसार सरकार गठनको माग गरेको बेला तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारी सुवेदीले एमाले नेता यादवलाई बर्दिवासको होटलमा मुख्यमन्त्री नियुक्त गरेर सपथ गराएकी थिइन् । त्यहिबेला विच्छा पनि मन्त्री बनेकी थिइन् ।
विवादित काम गरेकी प्रदेश प्रमुख भण्डारीलाई संघीय सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले एक दिनपछि नै पदमुक्त गरेर नयाँ प्रदेश प्रमुख नियुक्त गरिसकेकका छन् । यस्तै, एमालेको पक्षमा काम गरेको आरोप लागेका सभामुख रामचन्द्र मण्डलललाई पनि प्रदेशसभाका दुईतिहाई सांसदले पदबाट हटाइसका छन् भने मुख्यमन्त्री नियुक्तिको विषयमा सर्वोच्च अदालतमा मुद्दा चलिरहेको छ ।
राप्रपाले मन्त्रीबाट फिर्ता हुन दिएको निर्देशन अस्वीकार गरेकी उनलाई ८ मंसिरमा मुख्यमन्त्री यादवले वन तथा वातावरण मन्त्रीको जिम्मेवारी तोकेका थिए । पार्टीको नीति नियमको अटेर गरेपछि प्रक्रिया पुर्याए राप्रपाले उनलाई प्रदेश सभा सदस्य पदबाटै हटाउन राजनैतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३४ बमोजिम आवश्यक कारबाहीका लागि सूचना जारी गरिदिन प्रदेश सभामा पत्र पठाएको हो ।
यसअघि राप्रपाले स्पष्टिकरण सोधेर विच्छालाई निलम्बन गरेको थियो । आइतबार पार्टीका मुख्य सचिव केदारबहादुर अधिकारीको हस्ताक्षरसहित उनलाई पदमुक्त गर्न प्रदेश सभालाई पत्र पठाइएको छ । पत्र प्रदेशसभा सचिवालयमा पात्र भएपछि उपसभामुख बबिता राउत ईशरसामाु पेश भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
उपसभामुख ईशरले पत्र प्राप्त गरेको जानकारी दिँदै त्यसबारे कर्मचारीसहित कानुन विज्ञसँग छलफल गरेर सूचना प्रकाशन गर्ने बताएकी छन् ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!