झापाका प्रदेश सांसद खनाल पनि एमालेको महाधिवेशन प्रतिनिधिमा पराजित

झापाका प्रदेश सांसद खनाल पनि एमालेको महाधिवेशन प्रतिनिधिमा पराजित

विराटनगर । नेकपा एमालेको महाधिवेशनका लागि भएको प्रतिनिधि छनौटको निर्वाचनमा झापाबाट निर्वाचित प्रदेशसभा सदस्य राधाकृष्ण खनाल पनि पराजित भएका छन् ।

झापाको क्षेत्र नं. ४ का प्रदेश सांसद खनाल सोही क्षेत्रबाट एमालेको महाधिवेशन प्रतिनिधि बन्न उम्मेदवार बनेका थिए । खुल्लातर्फ ४ जनाको कोटा रहेकोमा उनी पाँचौ भएर पराजित भएका हुन् ।

सो क्षेत्रबाट निर्वतमान संघीय सांसद एलपी साँवा १८०६, शिवसत्ताक्षी नगरपालिकाका मेयर मेघाहाङ थोप्रा १७७३, रविन्द्र लम्साल १३९३ र हिमबहादुर कार्की १२१६ मतसहित विजयी भए । प्रदेश सांसद खनालले भने ६९४ मत मात्र प्राप्त गरे । यस्तै सोही क्षेत्रका निवर्तमान प्रदेश सांसद हिराकुमार थापा पनि ६६६ मत पाएर पराजित भएका छन् ।

खनालसँगै सुनसरी क्षेत्र नम्बर १ का दुबै जना प्रदेश सभा सदस्य पनि महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा पराजित भएका छन् । सुनसरी १ बाट प्रदेश सभामा निर्वाचित रमेशकुमार बस्नेत र विजयकुमार राई महाधिवेशनका लागि भएको प्रतिनिधि छनौटको निर्वाचनमा पराजित भएका हुन् ।

कोशी प्रदेशमा झापा क्षेत्र नम्बर २, सुनसरी क्षेत्र नं. २ र मोरङ क्षेत्र नं. ३ को परिणाम प्राप्त हुन बाँकी छ । विवादको कारकण मतगणना रोकिएको झापा क्षेत्र नं. २ मा प्रदेश सरकारका खानेपानीमन्त्री एकराज कार्की तथा प्रदेश सांसदहरु तिलचन पाठक र कमला थापा मगर उम्मेदवार छन् । यस्तै, सुनसरी २ मा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी र प्रदेशसभा सदस्य निरादेवि खनाल उम्मेदवार रहेका छन् । मोरङ क्षेत्र नम्बर ३ मा प्रदेश सभा सदस्य ज्ञानेन्द्र सुवेदी महाधिवेशन प्रतिनिधिको उम्मेदवार रहेका छन् ।

प्रदेश सांसद रहेका झापा ६ का होमहादुर थापा, ३ का छबिलाल चुढाल, मोरङ २ का लिलाबल्लभ अधिकारी, मोरङ १ का उमाकान्त गौतम, संखुवासभाका विदुर लिङ्थेप लगायत भने महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्