विराटनगर । नेकपा (एमाले)को आसन्न ११औँ महाधिवेशनको प्रतिनिधि चयन गर्न शनिबार भएको निर्वाचनमा ओखलढुङ्गाबाट सबै प्रतिनिधि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षका विजयी भएका छन् ।
ओखलढुङ्गाबाट १२ जना प्रतिनिधि चयन भएकोमा अध्यक्ष केपी ओली पक्षका कोहि पनि निर्वाचत हुन सकेनन् ।
ओखलढुंगा एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको गृहजिल्ला हो । यद्यपी उनले जिल्लामा रहेर राजनीति भने गरेका छैनन् । पोखरेलले आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरिसकेका छन् ।
पोखरेलको गृहजिल्ला ओखलढुंगाबाट खुलातर्फ अम्बिरबाबु गुरुङ, ज्ञानबहादुर खड्का, कमलप्रसाद न्यौपाने, अशोक थापा, राजीव कटवाल र केदारबाबु बस्नेत प्रतिनिधि निर्वाचित भएका छन् । त्यस्तै, महिलातर्फ इच्छाकुमारी गुरुङ, जुना विक, पशुपति गुरुङ र रमिला मगर श्रेष्ठ निर्वाचित भएका छन् । युवातर्फ टिकाराम धमला र दलिततर्फ ज्यानु कालिकोटे महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।
ओखलढुंगामा रहेका नेता अम्बिरबाबु गुरुङ जिल्लामा प्रभावशाली मानिन्छन् । गुरुङ र जिल्ला अध्यक्ष ज्ञानबहादुर खड्का पनि पोखरेलनिकट भएकै कारण पोखरेलकै पक्षमा क्लिनस्वीप भएको हो ।
जिल्लामा करिब ७ हजार संगठित सदस्य भएपनि प्रतिनिधि चयनको निर्र्वाचनमा भने १ हजार ५१८ ले मात्रै मतदान गरेका थिए । जिल्लामा मात्रै मतदान केन्द्र राखिएकोले ग्रामिण क्षेत्रबाट पार्टी सदस्यहरु मतदान गर्न नआएको बताइएको छ ।
जिल्लामा १२ जना प्रतिनिधि छनौट गर्नुपर्नेमा ४१ जनाले उम्मेदवारी दिएका थिए ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।