धरानमा पहिलोपटक खेलकुद महोत्सवको तयारी

धरानमा पहिलोपटक खेलकुद महोत्सवको तयारी

धरान । धरान खेलकुद मञ्चले मंसिर २५ देखि पुस १० गतेसम्म धरान रंगशालाको तल्लो मैदानमा ‘धरान खेलकुद महोत्सव’ आयोजना गर्ने भएको छ ।

मञ्चका अध्यक्ष किशोर राईले धरानलाई ‘खेलकुदको शहर’का रूपमा औपचारिक पहिचान दिलाउने लक्ष्यसहित महोत्सव आयोजना गर्न लागिएको बताएका छन् ।

धरान र देशका विभिन्न खेल विधाका राष्ट्रिय–अन्तर्राष्ट्रिय पदकधारी तथा ओलम्पियनहरूको जितेका पदक र खेल सामग्री महोत्सव अवधिभर विशेष प्रदर्शनीमा राखिनेछ। महोत्सवमा फुटबल, मिनी गल्फ, सुटिङ, बास्केटबल, हक्की, डोरी तान, आर्चरीलगायत खेलका थिम स्टल रहनेछन् ।

महोत्सवमा स्टलमार्फत सशुल्क खेल गतिविधिमा सहभागिता जनाउन पाइनेछ । प्रत्येक साँझ सांस्कृतिक तथा सांगीतिक कार्यक्रमसमेत हुनेछ । महोत्सवमा आउनेका लागि जातीय परिकारका स्टल राखिने तयारी छ । महोत्सव समापनको अवसरमा धरानलाई ‘खेलकुदको शहर’ घोषणा गर्ने प्रस्ताव मञ्चले अगाडि सारेको छ ।

महोत्सवबाट सङ्कलित रकम धरान–१७ स्थित सप्तरङ्गी पार्कमा खेलकुद स्मारक निर्माणमा लगानी गरिने मञ्चले जनाएको छ। सो पार्कमा धरान तथा नेपालका लागि अन्तर्राष्ट्रिय पदक विजेता र सहभागिता जनाएका लेजेन्ड खेलाडीहरूको शालिक निर्माण गर्ने योजना छ ।

यसैबीच, करिब ६ वर्षदेखि रोकिँदै आएको धरान स्कूल ओलम्पिक पनि यो वर्ष पुनः सुरु हुने भएको छ। माघ ५ देखि १२ गतेसम्म ‘धरान मेयर कप स्कुल ओलम्पिक फेस्टिभल’ सञ्चालन गरिने मञ्चले जनाएको छ।

स्कुल ओलम्पिकमा सितोरियो कराँते, फुटबल, टेबल टेनिस, टेक्वान्दो, बास्केटबल, ब्याडमिन्टन, भलिबल, क्रिकेट, एथलेटिक्स, उसु, जुडो र सेपाक्ताक्रो गरी १२ खेल समावेश हुनेछ । उद्घाटन प्रतियोगिता क्रिकेट हुनेछ भने ओलम्पिक समारोह पनि सोही मैदानमा आयोजना गरिनेछ।

प्रतियोगिताको अनुमानित २८ लाख बजेटमध्ये धरान उपमहानगरपालिकाले १३ लाख मात्र विनियोजन गरेको छ । बाँकी रकम मञ्चले प्रायोजकमार्फत जुटाउने जनाएको छ।

अध्यक्ष राईका अनुसार स्कुल ओलम्पिक स्कुले खेलाडीका क्षमता विकास, प्रतिस्पर्धात्मक अभ्यास र भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलतर्फ लाग्ने प्रेरणा प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिने हो। यस्तै हरेक वर्षझैं यो वर्ष पनि आगामी साउनमा उत्कृष्ट वर्ष खेलाडी, उत्कृष्ट प्रशिक्षक, उदीयमान खेलाडी, आजीवन खेलाडी मनोनयन गरी विजेतालाई अवार्ड प्रदान गरिने अध्यक्ष राईले बताए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्