धरान । नेकपा एमालेको आसन्न ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको लागि भएको निर्वाचनमा सुनसरी क्षेत्र नं १ मा कोशी प्रदेशसभाका सांसद नै पराजित भएका छन् ।
प्रतिनिधि छनौटमा सहमति जुट्न नसकेपछि शनिबार सुनसरी १ को प्रतिनिधि छनौट गर्न धरानमा मतदान भएको थियो ।
खुल्लातर्फ आसाराम चौधरी, जयकुमार राई र मुरारी सुवेदी निवार्चित भएकोमा कोशी प्रदेशसभा सदस्य रमेशकुमार बस्नेत र विजयकुकमार राई पराजित भएका हुन् । निर्वाचित भएका सुवेदीले ७९६, राईले ७७६ र चौधरीले ६७४ मत प्राप्त गरे । पराजित बस्नेतले ३७६ र राईले ३९१ मत मात्र प्राप्त गरेका छन् । उनीहरु दुबै जना सुनसरी क्षेत्र नं. १ अन्तर्गतका दुई प्रदेशसभा क्षेत्रबाट निर्वाचित सांसद हुन् । बस्नेत १(१) बाट र राई १(२) बाट निर्वाचित प्रदेश सांसद हुन् ।
निर्वाचित भएकामध्ये सुवेदी केपी ओली पक्षधर हुन् भने चौधरी र राई इतर पक्षका हुन् । यसैगरि, महिलातर्फ २ जनाको कोटामा सीता भण्डारी पौडेल ७६६ मत र सुशिला पहाडी ढकाल ७१५ मतसहित निवार्चित भएका छन् । विजेता दुबै इतर पक्षका हुन् । यस्तै, युवातर्फ दिवस वान्तवा राई ८८६ मतले निवार्चित भएका छन् । वान्तवा पनि इतर पक्षका हुन् ।
सो पदमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनाल र पूर्वमुख्यमन्त्री भीम आचार्यका स्वकीय सचिव अनिल राजधामी पराजित भएका छन् । युवा कोटामा सर्वसम्मत गर्ने भन्दै राजधामीमाथि चुनाबको अघिल्लो दिन आक्रमण भएको थियो । उनलाई उम्मेदवारी फिर्ताको कागजमा जबरजस्ती हस्ताक्षर गराएको भएपनि उनले उम्मेवारी फिर्ता नभएको बताएपछि चुनाब भएको थियो ।
धरानमा भएको प्रतिनिधि चयन मतदानमा ४५ दशमलव ४५ प्रतिशत मात्र मत खसेको थियो । धरानमा कायम ३ मतदान केन्द्रका १ हजार ७७१ मतदाता रहेकोमा ९६६ ले मात्र मतदान गरेका थिए ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।