विराटनगर । त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज (सोमबार) कर्णाली याक्स र काठमाडौं गोर्खाजबीच रोमाञ्चक भिडन्त हुँदैछ । यो खेल दिउँसो ३ः३० बजे सुरु हुनेछ ।
राष्ट्रिय टोलीका दुई प्रभावशाली अलराउन्डर सोमपाल कामी र करण केसीको कप्तानीमा रहेका टोलीबीचको यो खेल विशेषगरी कर्णालीका लागि निकै महत्त्वपूर्ण मानिएको छ ।
सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले जारी प्रतियोगितामा अहिलेसम्म सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन । चारवटा खेल खेलिसकेको कर्णालीले हालसम्म एउटा खेलमा मात्र जित हात पारेको छ । दुई अंकका साथ तालिकाको छैटौं स्थानमा संघर्ष गरिरहेको कर्णालीलाई प्लेअफको यात्रामा रहिरहन आजको खेल जित्नैपर्ने बाध्यता छ । आज पराजित भएमा कर्णालीको अघिल्लो चरणको यात्रा निकै कठिन बन्नेछ ।
अर्कोतर्फ, करण केसीको नेतृत्वमा रहेको काठमाडौं गोर्खाज तुलनात्मक रूपमा बलियो स्थितिमा देखिएको छ । हाल अंक तालिकाको तेस्रो स्थानमा रहेको काठमाडौं पनि आजको खेल जित्दै प्लेअफको यात्रालाई थप सुरक्षित बनाउने दाउमा छ ।
दुवै टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको बाहुल्यता रहेकाले आजको खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!