विराटनगर । नेकपा एमालेको आगामी महाधिवेशनका लागि प्रतिनिधि चयन गर्न शनिबार भएको निर्वाचनमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीका जनसम्पर्क सल्लाहकार रवि खनाल पनि पराजित भएका छन् ।
सुनसरीको क्षेत्र नम्बर १ बाट युबातर्फको प्रतिनिधि बन्न उम्मेदवार बनेका खनालको सर्मानक पराजय भएको हो ।
दिवस बान्तवा राई ८८७ मतसहित विजयी बन्दा खनालले २५९ मत मात्र प्राप्त गरेर तेस्रो भएका छन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्यका स्वकीय सचिव अनिल राजधामीले ५१७ मत प्राप्त गरी दोस्रो भए ।
निर्वाचनको पूर्वसन्ध्यामा उम्मेदवारी फिर्ताको दबाबसहित राजधामीमाथी कुटपिट भएको थियो । उनलाई उम्मेदवारी फिर्ताको कागजमा जबरजस्ती हस्ताक्षरसमेत गराइएको थियो । सो घटना सार्वजनिक भएपछि भने निर्वाचन गरियो । तर, खनालको शर्मानाक हार भयो ।
खनाल मुख्यमन्त्री कार्कीका विश्वास पात्र र निकट सहयोगी हुन् । कार्की प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा खनाललाई कुनै नियुक्ति बिना लामो समय सचिवालयमा राखेका थिए। सो विषय सार्वजनिक भएपछि खनालकै लागि ‘म अघि बढ्छु’ भन्ने वार्षिक ५ करोडको कार्यक्रम बनाएर कार्यक्रम संयोजक नियुक्त गरिएको थियो ।
कार्की मुख्यमन्त्री नियुक्त भएपछि भने खनाल जनसम्पर्क सल्लाहकारको रुपमा कार्यरत छन्। जनसम्पर्क सल्लाहकार भएपनि प्रदेश सरकारका काम कारबाही र गतिविधिमा उनको बलियो प्रभाव छ । मन्त्री कार्कीले खनालको सल्लाहबिना कुनैपनि काम नगर्ने भएकोले उनलाई छाया मुख्यमन्त्रीको रुपमा चिन्ने गरिएको छ।
संघीय सरकारले खर्च कटौती गर्ने भन्दै मन्त्री र मुख्यमन्त्रीहरूले सल्लाहकार राख्न नपाउने निर्णय गरेको छ । संघीय सरकारको निर्णयअनुसार अन्य प्रदेशका मुख्यमन्त्रीहरूले सचिवालयबाट सल्लाहकारलाई कटौती गरेका छन्। तर, कार्कीले भने खनाललाई हटाउनुपर्ने भएकै कारण संघीय सरकारको उक्त निर्णयको कडा आलोचना गर्दै आएका छन् । उनै खनाल खनाल एमाले महाधिवेशन प्रतिनिधिमा भने पराजित हुनुलाई रोचक मानिएको छ।
मुख्यमन्त्री कार्कीका जनसम्पर्क सल्लाहकार खनाल मात्रै होइन उनका स्वकीय सचिव कमल पौडेल पनि एमाले महाधिवेशन प्रतिनिधिमा पराजित भइसकेका छन्। एमाले अध्यक्ष केपी ओली निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ बाट युवातर्फ उम्मेदवार भएका कार्कीका स्वकीय सचिव पौडेल प्रतिनिधिमा पराजित भएका हुन्।
सो पदमा पत्रकार समेत रहेका युवराज पौडयाल विजयी भएका हुन्। पौडेलले ९०६ प्राप्त गरे । मुख्यमन्त्री कार्कीकै गृहनगर गौरादहका बासिन्दा उनका स्वकीय सचिव कमल पौडेलले भने ४९१ मत मात्र प्राप्त गरी तेस्रो भएका छन्। सो पदमा अर्का प्रतिस्पर्धी सुशील राईले ६१७, डेन्जोङ शेर्पाले २२१ र सुजन खरेलले १७४ मत प्राप्त गरे।
पौडेलले पनि कार्की कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुनमन्त्री भएको बेलादेखि नै उनको स्वकीय सचिवको रुपमा काम गर्दै आएका छन्। मुख्यमन्त्री कार्की नेकपा एमाले अध्यक्ष केपी ओलीका नजिकका विश्वास पात्रको रुपमा चिनिन्छन्। उनले प्रदेश सरकारको कामभन्दा केपी ओलीको प्रशंसा र रक्षामा आफ्नो ध्यान केन्द्रित गरेको भन्दै आलोचना हुने गरेको छ।
तर, कार्कीकै सल्लाहकार र स्वकीय सचिव एमाले महाधिवेशन प्रतिनिधिमा पराजित हुनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!