मोरङ कारागारका अर्का थुनुवाको मृत्यु, वैशाखयता १४ जनाले ज्यान गुमाए

मोरङ कारागारका अर्का थुनुवाको मृत्यु, वैशाखयता १४ जनाले ज्यान गुमाए

विराटनगर । विराटनगरस्थित जिल्ला कारागार मोरङमा राखिएका अर्को थुनुवाको शनिबार दिउँसो मृत्यु भएको छ।

लागुऔषध मुद्दाका थुनुवा मोरङ उर्लाबारी–१ का ३७ वर्षीय टंकबहादुर दर्जीको शनिबार मृत्यु भएको हो। शरीर सुन्निने र सास फेर्न गाह्रो हुने समस्या देखिएपछि मंसिर ७ गते कोशी अस्पतालमा भर्ना गरिएको उनको अवस्था सुरुदेखि नै चिन्ताजनक रहेको कारागार प्रशासक गौरव ढुंगेलले जानकारी दिए।

आईसीयूमा राखेर उपचार गराइएका दर्जीको उपचारकै क्रममा शनिबार दिउँसो मृत्यु भएको ढुंगेलले बताए। लागुऔषध मुद्दामा थुनुवामा परेका दर्जीलाई गत साउन ३० गते अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। मुद्दाको किनारा नलाग्दै उनको मृत्यु भएको र शव आफन्तले लगेका छन्।

मोरङ कारागार प्रशासनका अनुसार वैशाखयता दर्जीसहित मृत्यु हुनेको संख्या १४ पुगेको छ। पछिल्ला महिनामा कारागारमा कैदीबन्दी तथा थुनुवामध्ये शरीर सुन्निने, सास फेर्न गाह्रो हुने, छाती दुख्ने जस्ता समस्या बढेको छ ।

समस्या देखिनेबित्तिकै अस्पताल पुर्याइए पनि उपचारकै क्रममा मृत्यु हुने अवस्था दोहोरिन थालेको उनको भनाइ छ।यसअघि बिहीबार मात्रै कारागारका २ कैदीको मृत्यु भएको थियो।

जंगली हात्ती मारेको आरोपमा ५ वर्ष कैद सजाय पाएका बेलबारी–३ का ४७ वर्षीय तेजबहादुर राई र कर्तव्य ज्यान मुद्दामा १० वर्ष कैद काटिरहेका पथरीशनिश्चरे–५ का ६६ वर्षीय हर्कजंग लिम्बूको मृत्यु भएको थियो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्