विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका ६ वटा जिल्लाबाट सर्वसम्मत रूपमा प्रतिनिधि छनोट गरेको छ ।
अध्यक्ष खतिवडाका अनुसार ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, खोटाङ र सोलुखुम्बुमा निर्विरोध प्रतिनिधि छानिएका छन् ।
एमाले स्रोतका अनुसार ताप्लेजुङमा ६०–४० को भागबन्डा गरेर मिलाइएको थियो । भागण्डाको प्रचार भने गलत भएको खतिडाले बताए । धनकुटा, सुनसरी, मोरङ, झापा, उदयपुर र ओखलढुंगामा भने निर्वाचन प्रक्रिया मार्फत प्रतिनिधि छानिएको उनले बताए ।
चुनाव भएका जिल्ला बाहेक कोशी प्रदेशका अन्य जिल्लामा एमालेभित्र कुनै गुट नरहेको र सबैतिर केपी ओलीकै नेतृत्व स्वीकार गरिएको दाबी समेत गरेका छन् ।खतिवडाले महाधिवेशन प्रतिनिधि छनोटका क्रममा धनकुटा र मोरङमा देखिएको विवादलाई सामान्य भएको दाबी गरेका छन् ।
शनिबार विराटनगरस्थित पार्टी कार्यालयमा मतदानका क्रममा एमाले नेता पर्शुराम बस्नेतमाथि भएको हातपातको घटनालाई अध्यक्ष खतिवडाले अस्वीकार गरेका छन् । सार्वजनिक भिडियो र समाचारहरूमा बस्नेतमाथि आक्रमण भएको देखिए पनि खतिवडाले भने, ‘विराटनगरमा पर्शुराम बस्नेतलाई कुट्ने मान्छे को छ र ?’
उनले फर्जी मत खस्न नदिन रोक्ने क्रममा सामान्य धकेलाधकेल भएको स्वीकार गरे पनि त्यसलाई ‘कुटपिट’ भन्न नमिल्ने जिकिर गरे । उनले भने, ‘धेरै पटक भोट हाल्न खोज्दा रोक्ने क्रममा भिडमा धकेलाधकेल भएको हो, तर बाहिर हल्ला आएजस्तो कुटपिट भएको होइन । पर्शुराम बस्नेतले गल्ती गरे कारबाही हुन्छ, तर आजको घटना त्यो प्रकृतिको होइन ।’
धनकुटामा ईश्वर पोखरेल पक्षलाई पेलेर एकलौटी गर्न खोजिएको र धेरै ठाउँमा मतदान नै नभएको भन्ने गुनासोबारे खतिवडाले बचाउ गरेका छन् । उनले धनकुटाको विवाद तयारी नपुग्दाको परिणाम भएको बताए ।
‘धनकुटामा तयारी नगरी हतारमा निर्वाचन घोषणा गर्दा समस्या आएको हो,’ खतिवडाले भने, ‘यदि ५१ प्रतिशत (गणपूरक सङ्ख्या) सहभागी नभई प्रक्रिया अघि बढेको हो भने त्यसलाई संगठन विभाग र केन्द्रीय कमिटीले हेर्छ । त्यस्ता निर्वाचनहरू पुनः हुन पनि सक्छन् ।’



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!