विराटनगर । मलेसियालाई हराउँदै नेपाल एसिसी मेन्स यू–१९ प्रिमियर कप २०२५ को फाइनलमा पुगेको छ।
शनिबार युएईमा भएको सेमिफाइनलमा मलेसियामाथि ९ विकेटको जित निकाल्दै नेपाल उपाधि नजिक पुगेको हो ।
फाइनलमा पुगेसँगै नेपाल यू–१९ एसिया कपको लागि पनि छनौट भएको छ । मलेसियाले दिएको ५२ रनको झिनो लक्ष्य नेपालले ७.५ ओभरमै पूरा गरेको थियो।
नेपालको जितमा वंशी क्षेत्रीले नटआउट २३ रन र निश्चल क्षेत्रीले नटआउट १५ रन बनाए । ओपनर निरज यादव भने ४ रनमा आउट भएका थिए ।
त्यसअघि टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया १७.२ ओभरमा ५१ रनमै अलआउट भएको थियो। उसका सुरुवाती आठ ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । हम्जा पाङगीले जोडेको १३ रन नै मलेसियाका ब्याटरले जोडेको सर्वाधिक रन रह्यो ।
बलिङमा नेपालका नितेश पटेलले ४ विकेट लिए । उनले ८ ओभरमा २ मेडन राख्दा २४ रन दिए । चन्दन रामले ३ विकेट हात पारे । उनले ५ ओभरमा १ मेडन राख्दा ७ रन दिए । कप्तान अशोक धामी, रोशन विश्वकर्मा र अप्राजित पौडेलले १–१ विकेट लिए।
अब नेपालले उपाधिका लागि सोमबार घरेलु टोली युएई वा ओमानमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ । दुई टोलीबीचको सेमिफाइनल खेल भइरहेको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!