लोड हुँदैछ...

मेनु

एमाले महाधिवेशन प्रतिनिधि छान्ने चुनाब सम्पन्न : मतगणनाको तयारी

एमाले महाधिवेशन प्रतिनिधि छान्ने चुनाब सम्पन्न : मतगणनाको तयारी

विराटनगर । नेकपा एमालेको आगामी महाधिवेशनका लागि मोरङ जिल्लाबाट प्रतिनिधि छनोट गर्न आज भएको निर्वाचनको मतगणना रातिदेखि सुरु हुने भएको छ।

दिनभरको मतदान प्रक्रिया सकिएलगत्तै मतपेटिकाहरू सङ्कलन गरी तोकिएका स्थानहरूमा गणना सुरु गर्ने तयारी गरिएको नेकपा एमाले मोरङका सचिव सोमराज थापाले जानकारी दिए ।

आसन्न ११औँ राष्ट्रिय महाधिवेशनमा मोरङबाट ४६ प्रतिनिधि चयन हुनेछन् । क्षेत्र नम्बर १ को मतगणना उर्लाबारीमा हुने तय भएको छ। त्यस्तै, क्षेत्र नम्बर २ को रंगेलीमा र क्षेत्र नम्बर ३ को मतगणना बेलबारीमा गरिनेछ । क्षेत्र नम्बर ४ को मतगणना भने सोमबारेमा हुने बताइएको छ ।

विराटनगर महानगरपालिका र आसपासका क्षेत्र समेटिएको क्षेत्र नम्बर ६ को मतगणना विराटनगरस्थित एमाले पार्टी कार्यालय पाञ्चालीमा हुनेछ । साँझ ७ बजेदेखि नै मत गन्न सुरु गरिने सचिव थापाले बताए ।

एमाले पार्टी कार्यालयमा मतदान चलिरहेको बेला दिउँसो हात हालाहालको अवस्था बनेको थियो । अशक्त र अपांगता भएका व्यक्तिको मतदान प्रतिनिधिले गर्ने क्रममा एमाले नेता पर्शुराम बस्नेतले रोक्न खोजेपछि उनीमाथि हातपात भएको थियो । बस्नेतले भने सामान्य विवाद भएको दावी गर्दै हातपात नभएको बताएका छन् ।

जिल्लाका ६ वटा निर्वाचन क्षेत्रमध्ये क्षेत्र नम्बर ५ मा भने सहमितकै आधारमा प्रतिनिधि छानिएको थियो । अन्य क्षेत्रमा भने अध्यक्ष केपी शर्मा ओली र आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले प्यानलै बनाएर प्रतिस्पर्धा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds