विराटनगर । नेपाल पर्यटन बोर्डले समुदाय–आधारित पर्यटन व्यवसायलाई मजबुत बनाउन धनकुटाको भेडेटार र सुनसरीको अमाहा सिमसारमा ‘क्वालिटी टुरिजम’ अभियान सञ्चालन गरेको छ ।
अभियानअन्तर्गत होमस्टे, सेवा संस्कार, ग्राहक व्यवहार र हाइजिन सुधारमा केन्द्रित तालिम सम्पन्न भएको बोर्डले जनाएको छ।
अमाहा सिमसार, बराहक्षेत्र–५, सुनसरीमा ‘होमस्टे व्यवस्थापन तथा पर्यटन–मैत्री सेवा क्षमता विकास’ प्रशिक्षण सञ्चालन भएको थियो । त्यसले स्थानीयलाई होमस्टेको सम्भावना, दर्ता प्रक्रिया, आतिथ्य, सांस्कृतिक प्रस्तुति, विदेशी पाहुनासँगको व्यवहार, अंग्रेजी–हिन्दी संवाद र डिजिटल प्रमोशनसम्बन्धी व्यावहारिक सीप प्रदान गरेको बोर्डले जनाएको छ ।
प्रशिक्षण नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गतको दिगो पर्यटन परियोजना (एसटीपी)ले श्वाती संस्थासँगको सहकार्यमा सञ्चालन गरेको हो। सो अवसरमा श्वाती संस्था र अमाहा सामुदायिक वन समितिबीच सहकार्य सम्झौतासमेत भएको छ । जसले अमाहा सिमसार क्षेत्रमा कम्युनिटी होमस्टे सञ्चालनलाई औपचारिक रूपमा अघि बढाउने आधार तयार गरेको छ ।
यस्तै, धनकुटाको भेडेटार, सांगुरीगढी–६ मा आयोजित ५ दिने ‘ग्राहक सेवा, हाइजिन र पर्यटन–मैत्री व्यवहार’ तालिम सञ्चालन भएको छ । त्यसले स्थानीय होटल तथा होमस्टे व्यवसायीलाई पेशागत सुधारतर्फ प्रेरित गरेको आयोजकको दावी छ । गाउँपालिका अध्यक्ष जितेन्द्र राईका अनुसार भारतबाट ठूलो संख्यामा आउने पर्यटकलाई आकर्षित गर्न सेवा स्तर उकास्नु समयको माग हो ।
श्वाती संस्थाकी अध्यक्ष सङ्गीता निरौलाका अनुसार सेवा गुणस्तर र व्यवस्थापन सुधारमा संस्थाले काम गर्नेछ । होटल एसोसिएसन भेडेटारका अध्यक्ष तुम्बा राज लिम्बूले होमस्टे विस्तार भए पनि सीप र ज्ञान अभाव रहेको बताउँदै तालिमले त्यस कमी पूर्ति गरेको बताए। भेडेटार प्रहरीले पर्यटक सुरक्षा बढाउन टुरिस्ट पुलिस आवश्यक रहेको सुझाव पनि राखेको थियो ।
कोशी पर्यटन वर्ष २०८२ का सह–संयोजक भविश श्रेष्ठका अनुसार व्यवहारगत चुनौती समाधानमा यस्ता कार्यक्रम प्रभाबकारी हुने अपेक्षा गरिएको छ । तालिमपछि सहभागीहरूले भान्सा सफाइदेखि व्यक्तिगत हाइजिनसम्म सुधार गर्ने प्रतिवद्धता जनाएका छन् ।
भेडेटार गाउँपालिका र होटल एसोसिएसनले सिकाइको अनुगमन गर्न औपचारिक संरचना बनाउने सहमति गरेका छन् । जसले भेडेटारमा गुणस्तरीय पर्यटन सेवा प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
दिगो पर्यटन परियोजनाले देशभर २ हजार ५ सय रोजगारी सिर्जना र ५ हजार जनाको सीप अभिवृद्धिको लक्ष्य लिएको छ । परियोजना प्रबन्धक धर्मराज दवाडीका अनुसार अमाहा सिमसारमा कम्युनिटी होमस्टे तयारी र भेडेटारमा सेवा गुणस्तर सुधारप्रति देखिएको स्थानीय प्रतिबद्धताले कोशी प्रदेशको पर्यटन विकासमा योगदान गर्नेछ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!