बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

पोखरा । काठमाडौंबाट पोखराका लागि उडेको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ ।

शनिबार पोखरा विमानस्थलमा अवतरणका क्रममा जहाजसँग चरा ठोक्किएको हो ।

बुद्ध एयरले शनिबार काठमाडौंबाट पोखराका लागि उडेको जहाज अवतरणका क्रममा चरा ठोक्किएको पुष्टि गरेको छ । चरा ठोक्किएको उडान संख्या ६१७ जहाज ९ एन–एओसीका सबै यात्रु र चालक दल सुरक्षित रहेका छन् ।

जहाजलाई पोखरास्थित प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ । बुद्ध एयर पोखरा कार्यालयका अनुसार विमानसँग ठोक्किएको चरा गिद्ध भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । विमान धावनमार्गको पूर्वी भाग रनवे १२ बाट अवतरण गर्दै गर्दा गिद्द ठोक्किँदा विमानको दायाँ इन्जिनको एक प्रोपेलर क्षतिग्रस्त भएको छ ।

विमानमा ६८ यात्रु सवार थिए र सबै यात्रु तथा चालक दल सुरक्षित रहेको बुद्ध एयरले जनाएको छ । विमानले काठमाडौं फर्कने क्रममा ७२ यात्रु ल्याउने तालिका थियो । क्षति मूल्यांकन र मर्मतपछि मात्रै पुनः उडानयोग्य बन्नेछ ।

पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार एक महिनाअघि पनि पोखराबाट काठमाडौंका लागि टेकअफ गरेको बुद्ध एयरको एटीआर विमान गिद्दसँग ठोक्किएपछि पुनः धावनमार्गमै फर्किएको थियो ।

केही दिनअघि जनकपुरमा दुईवटा जहाजमा चरा ठोकिएका थिए । फेरि पोखरामा सोही घटना दोहोरिएको भन्दै विमानस्थलको सुरक्षामा सम्बनधित निकायले चासो नदिइएको बुद्ध एयरले गुनासो गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्