विराटनगर । नेकपा एमाले मोरङको ११ औं महाधिवेशन प्रतिनिधि छनोटका क्रममा शनिबार दिउँसो भएको विवाद र धकेलाधकेलको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि एमाले विराटनगरका इन्चार्ज पर्शुराम बस्नेतले स्पष्टीकरण दिएका छन् ।
विराटनगरस्थित पार्टी कार्यालयमा भएको घटनापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता बस्नेतले बाहिर चर्चा भएजस्तो र भिडियोमा देखिएजस्तो हातपात नभएको दाबी गरेका छन् । भिडियोमा बस्नेत आक्रोशित मुद्रामा अघि बढेको र धकेलाधकेल भएको देखिन्छ, तर उनले त्यसलाई अस्वीकार गरे ।
नेता बस्नेतले भीडभाडमा फर्किने क्रममा खुट्टा अल्झिएर लड्न खोज्दा हातपात गरेजस्तो देखिएको जिकिर गरे । उनले भने, ‘‘भिडियोमा धकेलेको होइन । म यसो फर्किदाखेरी त्यो भीडमा खुट्टा अल्झिएर यसो लडेजस्तो देखिएको हो । कसैले कसैलाई हातपात गर्ने कुरा भएको छैन । सामान्य छलफल मात्र भएको हो । छलफल चाहिँ अलि चर्काचर्की नै भएको हो, तर कुटपिटको तहमा पुगेको छैन ।’’
के थियो विवादको कारण ?
बस्नेतका अनुसार मतदान प्रक्रियामा नियम विपरीत एकै व्यक्तिले धेरै जनाको भोट हाल्न खोजेपछि विवाद सुरु भएको थियो । आँखा नदेख्ने र अशक्तका नाममा ‘इच्छाइएको व्यक्ति’ भन्दै एकजना कार्यकर्ताले २० औं पटक मतदान गर्न खोजेपछि आफूले रोकेको उनले बताए ।
‘‘अशक्तका लागि परिवारको सदस्य वा तोकिएको व्यक्तिले भोट हाल्न पाउछ, तर एउटै नेता–कार्यकर्ताले २० पटक भोट हाल्न खोजेपछि मैले यो गलत हो, तपाईँ बाहिर जानुस् भनेर रोकेको हुँ,’’ बस्नेतले भने, ‘‘जिम्मेवार मान्छेले नै विधि मिच्न खोजेपछि सम्झाउने क्रममा ठूलो स्वर भएको हो ।’’
घटनालाई राजनीतिक रङ दिँदै बस्नेतले पार्टीभित्र र बाहिर अध्यक्ष केपी शर्मा ओली पक्षलाई घेराबन्दी गर्न खोजिएको गुनासो समेत गरे । उनले ओली पक्षधर भएकै कारण आफूहरूलाई पेल्न, हेप्न र विधि मिच्न खोजिएको र त्यसको प्रतिवाद गर्दा घटना भएको बताए । ‘‘अहिले संसार नै एमालेको विरुद्धमा छ, त्यसमा पनि पार्टीभित्र र बाहिर केपी ओलीको विरुद्धमा सबै छन्,’’ बस्नेतले भने, ‘‘त्यही कारण केपी ओली पक्षधरलाई अलि पेल्न खोज्ने, हेप्न खोज्ने र विधि मिच्न खोज्ने काम भइरहेको छ । यो त्यसैको प्रतिवादको परिणाम हो ।’’
विवादपछि अहिले सौहार्दपूर्ण वातावरणमा मतदान प्रक्रिया अगाडि बढेको र उत्साहजनक सहभागिता रहेको पनि उनले जानकारी दिए ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!