एमालेको प्रतिनिधि छनोट : धनकुटामा संंस्थापनले एकलौटी गरेको भन्दै मतपत्र च्यातियो

एमालेको प्रतिनिधि छनोट : धनकुटामा संंस्थापनले एकलौटी गरेको भन्दै मतपत्र च्यातियो

धनकुटा । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट प्रक्रियामा धनकुटामा गम्भीर विवाद उत्पन्न भएको छ।

सहमतिमै उम्मेदवारी फिर्ता गराएर पछि मतदान गराउने प्रयास गरिएको आरोप लगाउँदै ईश्वर पोखरेल निकट इन्द्रमणी पराजुली नेतृत्वको असन्तुष्ट समूहले आज धनकुटामा पत्रकार सम्मेलन गर्दै चुनाव प्रक्रियालाई पूर्ण रूपमा अस्वीकार गरेको घोषणा गरेको हो।

पत्रकार सम्मेलनमार्फत पराजुली पक्षले अधिकांश उम्मेदवारलाई मनोनयन फिर्ता लिन दबाब दिएको र पार्टी सदस्य–मतदातालाई झुक्याएर मतदानतर्फ लैजान खोजिएको आरोप लगायो। उनका अनुसार ‘गुट मजबुत बनाउने नाममा पार्टी कमजोर बनाउने’ गतिविधि भइरहेको र यस्तो परिस्थितिमा गरिने मतदान प्रक्रिया नै अमान्य हुने दाबी गरिएको छ।

पराजुलीले भने, “उम्मेदवारी फिर्ता गरियो, अन्तिममा भने मतदान गर्न लगाइयो। यस्तो मनोमानी निर्वाचन प्रक्रियालाई हामीले मान्यता दिन सक्दैनौँ।” उनका अनुसार मतदानका लागि वातावरण नै विकृत बनाइएको र मनोमानी ढंगले मतदान गराउन खोजिएकाले त्यसको वैधानिकता रहने छैन।

पराजुलीले आफूहरुलाई थाहा नदिई एकलौटी आफू निकटका निर्वाचन अधिकृत तोकेको आरोप लगाएका छन् । पार्टी कार्यालय निर्वाचन केन्द्रमा फर्जी मत हालेको भेटिएपछि विरोध स्वरुप मत पेटिका फालिएको उनको भनाइ छ । पराजुली पक्षले पार्टी कार्यालयमा तालाबन्दीसमेत गरेको छ ।

शुक्रबार साँझ संस्थापन पक्षबाट ९ जना र ईश्वर पोखरेल पक्षबाट ४ जना प्रतिनिधि बनाउने सहमति दुई पक्षबीच भएको थियो । सहमति अनुसार ४ जना बाहेकले मनोनयन फिर्ता लिएपछि शनिबार बिहानबाट निर्वाचन प्रक्रिया शुरु भएको पराजुलीले दावी गरे ।

महालक्ष्मी नगर कमिटी अध्यक्ष कमल कार्कीले पनि पालिका कमिटीलाई आधिकारिक जानकारी नदिई गुटगत शक्तिबलमा प्रक्रिया थोपर्न खोजिएको दाबी गर्दै निर्वाचन बहिष्कारको घोषणा गरेका छन्। पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य सकुन्तला बस्नेत, नेता चन्द्र बस्नेत, निरेन तामाङ, मञ्जु अधिकारी, बलदीप राई, तारा तितुङलगायतको सहभागिता थियो।

केपी ओली निकट राजेन्द्र राई पक्षले भने लामो सहमतिका प्रयास सफल नभएपछि निर्वाचन कार्यतालिका अनुसार मतदान प्रक्रिया अघि बढाइएको जनाएको छ। सर्वसम्मत प्रतिनिधि छनौट हुन नसकेपछि निर्वाचन प्रक्रिया शुरु भएको दावी गर्दै पराजय हुने निश्चित भएपछि अर्को पक्षले अराजकता मच्चाएको उनले आरोप लगाए ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्