मोरङमा एमाले महाधिवेशन प्रतिनिधि छनोटको विवाद: परशुराम बस्नेतमाथि हातपात

मोरङमा एमाले महाधिवेशन प्रतिनिधि छनोटको विवाद: परशुराम बस्नेतमाथि हातपात

विराटनगर । नेकपा एमालेको ११औं अधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने क्रममा विराटनगरमा तनावको स्थिति सिर्जना भएको छ।

विराटनगरको पाञ्चालीस्थित एमाले पार्टी कार्यालयमा जारी मतदानका क्रममा कार्यकर्ताहरूबीच झडप र हात हालाहाल भएको हो।

विवादको मुख्य कारण फर्जी मतदानको प्रयास रहेको बताइएको छ। एमाले नेता पर्शुराम बस्नेतले मतदान स्थलमा एकै व्यक्तिले पटक-पटक अशक्त र अपाङ्गता भएका व्यक्तिहरूको नाममा वारिस बनेर भोट हाल्न खोजेको भन्दै कडा प्रतिवाद गरेका थिए।

सार्वजनिक भएको भिडियो फुटेजमा नेता बस्नेत निकै आक्रोसित देखिएका छन्। उनले भिडमा “तपाईं अभिभावक होइन? यसरी भोट हाल्न पाइन्छ?” भन्दै प्रश्न गरेको र अर्को पक्षलाई झम्टिन खोजेको देख्न सकिन्छ। उनलाई रोक्न अन्य कार्यकर्ता र सुरक्षाकर्मीलाई हम्मे-हम्मे परेको थियो। केही कार्यकर्ताले उनलाई धकेलेका थिए।

एमाले स्रोतका अनुसार वडा नम्बर १२ का एमाले वडाध्यक्ष भानुभक्त पाठकले एकजना व्यक्तिलाई मतदानका लागि लैजाने क्रममा विवाद भएको थियो । बस्नेतले पटक पटक एकै व्यक्ति किन जाने भन्दै विवाद भएको थियो । त्यस क्रममा उनीमाथि हातपात भएको हो।

भिडियोको पृष्ठभूमिमा एक महिलाले “आफू-आफू लडाइँ गरेर मर्ने भए” भन्दै चिन्ता व्यक्त गरेको सुनिन्छ भने कार्यकर्ताहरूबीच ठेलमठेल चलिरहेको देखिन्छ। यो घटनाले एमालेको आन्तरिक प्रतिस्पर्धामा देखिएको तीव्र गुटबन्दी र असन्तुष्टिलाई सतहमा ल्याएको छ।

अशक्त र वृद्धवृद्धाको नाममा अनधिकृत व्यक्तिले मतदान गर्न खोजेको विषयले उग्र रूप लिएपछि केही बेर मतदान प्रक्रिया नै प्रभावित बन्न पुगेको थियो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्