विराटनगर । नेकपा एमालेको आसन्न ११ औं राष्ट्रिय महाधिवेशनका लागि देशभर प्रतिनिधि छनौट प्रक्रिया चलिरहँदा पार्टीभित्रको दलित समुदायले गम्भीर असन्तुष्टि व्यक्त गरेको छ ।
मोरङका एमाले नेता खेम नेपालीले प्रतिनिधि छनौटको मापदण्डले दलित समुदायमाथि विभेद गरेको र पार्टीभित्रै ‘अछुत’ व्यवहार गरिएको आरोप लगाएका छन् । पूर्व सांसद समेत रहेका नेपालीले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै वर्गीयरहित समाज र समानताको वकालत गर्ने कम्युनिष्ट पार्टीले नै प्रतिनिधि चयनमा दलितलाई साँघुरो घेरामा राखेको बताए ।
नेता नेपालीले समाजमा विद्यमान जातीय छुवाछूतको पीडा पार्टीको आन्तरिक लोकतन्त्रमा पनि झल्किएको बताए । ‘दलितले दलित मात्र चुन्न र चुनिन पाउने प्रावधान राखेर सामाजिक–सांस्कृतिक रूपमा उपेक्षित हामी रैथाने दलितलाई झन् साँघुरो र संकीर्ण बनाइएको छ,’ उनले भनेका छन्, ‘फेरि पनि एकदमै अछुत बनाइएको छ । समाजमा पानी अचल त थियो नै, यसपटक मत पनि नचल्ने बनाएको छ ।’
टेलिफोन संवादमा पनि नेता नेपालीले विगतको तुलनामा अहिलेको व्यवस्था प्रतिगामी भएको दाबी गरे । उनले भने, ‘विगतमा एउटा दलित उम्मेदवारलाई सबैले भोट हाल्ने व्यवस्था थियो । तर यसपटक सबैको भोट दलितलाई नचल्ने र हाम्रो (दलितको) भोट पनि अरुलाई नचल्ने बनाइयो । हामीले अरुलाई हाल्न पनि पाइएन, उनीहरुले हामीलाई हाल्न पनि पाएनन् । खाली दलितले दलितलाई मात्रै ।’
दलित निर्वाचन क्षेत्रलाई छुट्टै राखिएको भए पनि त्यसमा अन्य समुदायको सहभागीता (मतदान) निषेध गरिनुलाई उनले ‘ठूलो विभेद’ को संज्ञा दिएका छन् । खुला रूपमा मतदान गर्न पाउने अधिकार कुण्ठित गरी दलितलाई एउटा घेराभित्र मात्र सीमित गरिएकोमा उनले आपत्ति जनाए ।
माक्र्सवादी दर्शनलाई मार्गदर्शक सिद्धान्त मान्ने एमालेजस्तो पार्टीले कथित तल्लो÷उपल्लो विभेद झल्कने निर्णय गर्नु कम्युनिष्ट आन्दोलनकै अपमान भएको नेता नेपालीको तर्क छ । ‘अर्थराजनीतिक दृष्टिकोणले सर्वाधिक उम्दा मानिएको माक्र्सवादी विज्ञाननिर्देशित हाम्रो मनोविज्ञान अहिले पनि कथित छुत/अछुत र तल्लो÷उपल्लो विभेद झल्कने मानवताविरुद्धको प्रहारमा मौन छ,’ उनले लेखेका छन् ।
समतामूलक समाज निर्माणको पहिलो शर्त वर्गीय समानता हुनुपर्नेमा पार्टी नेतृत्वले ‘अवर्गीय गतिविधि’ गरेको उनको आरोप छ । उनले यो निर्णय लिने नेतृत्वको क्षमतामाथि प्रश्न उठाउँदै भनेका छन्, ‘यो विवेकहीन निर्णय लिने नेता, तिनको नेतृत्व क्षमता र विभेदजन्य यो व्यवहारको चर्को र उँचो शब्दमा घृणा, निन्दा र भत्सर्ना व्यक्त गर्दछु ।’
एमालेको ११ औं महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया अन्तर्गत अहिले देशभरका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधि चयन भइरहेका छन् । यस्तोमा दलित समुदायबाट उठेको यो आवाजले एमालेको समावेशी नीति र व्यवहारिक अभ्यासमाथि गम्भीर प्रश्न खडा गरेको छ ।



1 प्रतिक्रिया
सर्वप्रथम क खेम नेपाली दाजु लाई मेरो नमस्कार ।हजुर मेरो पाहाड घर देखिकै नेता हो । नाताले दाजु हो ।जागिरे जिवनमा पनी सिनियर हो।हामी तपाईं र तपाईं जस्तै सिनियरका सिकाइ ले यो बिचारमा समाहित भएका हौ। तपाईं ले म जस्ता लाई मात्र हैन ठुला ठुला फोरम र जनसभा हरुमा पार्टी र क्रान्ति का बारेमा कला साहित्य र बिचार हरु पस्कनु भएको छ।त्यतिमात्र हैन धेरै उताडचनाव हरु र चुनौती पार गर्नु भएको छ, तसर्थ केही अवसरहरु पनी पार्टी पङ्तीमा लिनु भएर हाल समेत प्रदेश कमिटीमा रहनु भएको एमाले नेता हो,,, तपाईं लाई सिङ्गो वाम राजनितिले देशभर बाट चिन्छ।यो बिषय किन हिजो अपानी जारि हुदाको बखत पस्कनु भएन!अनी तपाईं जतिको नेता ले खुल्ला क्लस्टर बाट चुनाब नलडेर त्यो तपाईं भन्दा निम्सराको कोटा बाटै चुनाब मा उठ्नु भएको!! खुल्लामा नाम सार्न पाउने अवसर थाहै पाउनु भएन!!!अनि यो साच्चै मिलेन तर,,, त्यतिको कुरो समयमै किन जन जाहेर नगर्नु भएको!कुनै अमुख ब्याक्ती बाहेक तपाइ र आम दलित समुदाय लाइ एमाले पंङ्तिले कहिले र कहा अछुत बनायो!!त्यो क्लस्टर बाट चुनाब मा उमेदवारी दिएर मतपेटिका गन्तब्यमा पुगेपछी मात्र कसरी मतभेद भएको कुरा लेख्नु वा भन्नु भयो !!: यसरी अलिक पद्दती सच्याइ तिर जादैनकी,,,