सडक सुरक्षामा ट्राफिकको चासो , चालकहरूको निःशुल्क आँखा जाँच

सडक सुरक्षामा ट्राफिकको चासो ,  चालकहरूको निःशुल्क आँखा जाँच

विराटनगर । सवारी दुर्घटना न्यूनीकरणमा सघाउ पुर्‍याउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरमा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरेको छ ।

विराटनगर बसपार्कमा शनिबार बिहान आयोजित शिविर रामलाल गोल्छा आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो । शिविरमा सार्वजनिक यातायातका सवारी चालक, सिटी सफारी चालक, सह–चालक तथा सर्वसाधारणले आँखा परीक्षण गराएका छन् ।

शिविर कार्यक्रम सहभागि गर्दै नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीले दुर्घटनाको जोखिम कम गर्न चालकको स्वास्थ्य र विशेषगरी दृष्टि तन्दुरुस्त हुनुपर्नेमा जोड दिए । एसपी गिरीले भने, ‘सवारी दुर्घटनाको कारणमध्ये चालकको कमजोर दृष्टि पनि एक हो । विशेषगरी यात्रुबाहक सवारी र सिटी सफारीका चालकहरूलाई लक्षित गरी आयोजना गरिएको यो शिविरले सम्भावित दुर्घटना न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुर्‍याउने हामीले विश्वास लिएका छौं ।’

त्यस्तै, मोरङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष न्यौपानेले लामो दूरी तथा छोटो दूरीका सवारी चलाउने चालकहरूले नियमित स्वास्थ्य र आँखा जाँच नगराउँदा जोखिम बढ्ने गरेको बताए ।

उनले भने, ‘कतिपय चालकलाई आफ्नो आँखा कमजोर भएको थाहा नै नहुन सक्छ । स्पष्ट दृष्टि नहुँदा सडकमा टाढैबाट संकेतहरू नदेखिने र दुर्घटना हुने खतरा रहन्छ । तसर्थ, चालकहरूलाई आफ्नो आँखाको अवस्थाबारे जानकारी गराउन र सुरक्षित यात्रा सुनिश्चित गर्न हामीले यो अभियान थालेका हौं ।’

शिविरमा आँखा जाँच गराएका चालकहरूले ट्राफिक प्रहरीको यो कार्यको प्रशंसा गरेका थिए । परीक्षणका क्रममा दृष्टिमा समस्या देखिएका चालकहरूलाई थप उपचारका लागि अस्पताल जान सुझाव दिइएको थियो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्