विराटनगरको स्वयम्भू सहकारीमा लाखौं हिनामिना, अध्यक्षले ४८ लाख र उपाध्यक्षले १९ लाख अपचलन

विराटनगरको स्वयम्भू सहकारीमा लाखौं हिनामिना, अध्यक्षले ४८ लाख र उपाध्यक्षले १९ लाख अपचलन

विराटनगर । विराटनगर–१०, निलसदन अगाडि कार्यालय रहेको ‘स्वयम्भू बचत तथा ऋण सहकारी संस्था लि.’ मा अध्यक्ष प्रदिप महतोको मिलेमतोमा लाखौँ रुपैयाँ अपचलन भएको खुलेको छ । सहकारीका अध्यक्ष महतो र उपाध्यक्ष राजु थापाले संस्थाको नियम विपरीत लाखौँ रुपैयाँ हिनामिना गरेको लेखापरीक्षण प्रतिवेदनले पुष्टि गरेको हो ।

लेखापरीक्षण प्रतिवेदन अनुसार अध्यक्ष महतोले संस्थाबाट ४८ लाख ६ हजार ५ सय ५८ रुपैयाँ ४५ पैसा र उपाध्यक्ष थापाले १८ लाख ९१ हजार १ सय ८२ रुपैयाँ ६१ पैसा हिनामिना गरेका छन् । बचतकर्ताको रकम फिर्ता नभएपछि सुरु भएको अनुसन्धानका क्रममा जिल्ला सरकारी वकिलको कार्यालयमार्फत बुधबार मोरङ अदालतमा १० जना सञ्चालक तथा पदाधिकारीविरुद्ध ‘सहकारी ठगी’ कसुरमा अभियोग दर्ता भएको छ । अदालतमा दायर गरिएको अभियोग पत्रमा कुल ३ करोड ५४ लाख ३६ हजार ७ सय ७७ रुपैयाँ ३७ पैसा बिगो मागदाबी गरिएको छ ।

‘पि.डि.एस. एण्ड एशोसियट्स’ नामक संस्थाले गरेको लेखापरीक्षण प्रतिवेदनले सहकारीभित्रको चरम बेथिति उदाङ्गो पारेको हो । प्रतिवेदन अनुसार संस्थाका अध्यक्ष र उपाध्यक्षले मात्रै ठुलो रकम अपचलन गरेको देखिन्छ । मिति २०७९ साउन १ देखि २०८२ वैशाख २० गतेसम्मको समयावधिलाई आधार मानेर तयार पारिएको विवरण अनुसार अध्यक्ष महतो र उपाध्यक्ष थापाको नाममा मोटो रकम हिनामिना गरेको देखिएको छ ।


प्रतिवेदनमा उल्लेख भएअनुसार अध्यक्ष महतोले ४८ लाखभन्दा बढी र उपाध्यक्ष थापाले १८ लाख ९१ हजार रुपैयाँभन्दा बढी रकम व्यक्तिगत रूपमा चलाएका छन् । उक्त रकम संस्थाको कुन प्रयोजनका लागि खर्च भयो वा कहाँ छ भन्ने कुनै आधिकारिक अभिलेख सहकारीमा भेटिएको छैन । अध्यक्ष महतोले आफूखुसी बिना धितो ऋण प्रवाह गर्ने र बचतकर्ताहरूले जम्मा गरेको निक्षेप रकम सिधै आफ्नो व्यक्तिगत खातामा राखेर अपचलन गरेको पाइएको छ ।
संस्थाको पुँजी र कोषको स्रोतको जम्मा रकम १ करोड ८३ लाख २३ हजार ९० रुपैयाँ ६६ पैसा हुनुपर्नेमा ५५ लाख ६ हजार १ सय ६४ रुपैयाँ विभिन्न व्यक्तिहरूलाई ऋण प्रवाह गरेको देखिएको छ । तर, संस्थामा हाल ३४३ जना बचतकर्ताको ६६ लाख ९९ हजार ४ सय ९२ रुपैयाँ दायित्व देखिन्छ ।

उपाध्यक्षलाई १५ लाख र कोषाध्यक्षलाई ३ लाख धरौटी
सहकारी ठगी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष राजु थापा र कोषाध्यक्ष मदन कुमार महतोको थुनछेक बहस बिहीबार मोरङ अदालतमा सकिएको छ । बहसपछि मोरङ अदालतका न्यायाधीश अरुण कुमार झाको इजलासले पक्राउ परेका दुवै जनालाई धरौटीमा छाड्न आदेश दिएको छ ।

अदालतले विराटनगर–१७ का ४० वर्षीय उपाध्यक्ष राजु थापालाई १५ लाख रुपैयाँ र कोषाध्यक्ष मदन कुमार महतोलाई ३ लाख रुपैयाँ धरौटी माग गरेको मोरङ अदालतका सूचना अधिकारी हेमराज बुढाथोकीले जानकारी दिए । उनले भने, ‘अदालतले धरौटी रकम तोकेको छ, तर बिहीबार साँझसम्म उनीहरूले सो रकम बुझाउन सकेका छैनन् । धरौटी नबुझाए उनीहरू थुनामै रहनेछन्, बुझाएपछि मात्र छुट्ने प्रक्रिया अघि बढ्नेछ ।’
सहकारीका मुख्य अभियुक्त मानिएका अध्यक्ष प्रदिप महतो भने हाल फरार छन् । प्रहरीले अध्यक्ष महतोसहित १० जना सञ्चालकविरुद्ध मुद्दा दायर गरेको छ ।

सहकारीका सञ्चालकहरूले बचतकर्ताको रकम फिर्ता गर्न बारम्बार ताकेता गर्दा पनि आनाकानी गरेपछि २२ जना पीडितहरूले संयुक्त रूपमा प्रहरीमा जाहेरी दिएका थिए । बचतकर्ताले जम्मा गरेको रकम प्रतिवादीहरूले व्यक्तिगत खातामा राख्ने, आफूखुसी खर्च गर्ने र संस्थाको हिसाब किताब पारदर्शी नराख्ने गरेको उजुरीमा उल्लेख छ । सोही जाहेरीका आधारमा मोरङ प्रहरीले उपाध्यक्ष थापा र कोषाध्यक्ष महतोलाई पक्राउ गरेको थियो ।

दाजुले फसाएको भाइको बयान
सहकारी ठगी प्रकरणमा पक्राउ परेका संस्थाका कोषाध्यक्ष मदन कुमार महतोले भने आफू निर्दोष रहेको र आफ्नै दाजु (अध्यक्ष) प्रदिप महतोले फसाएको बयान दिएका छन् । मदन र प्रदिप सहोदर दाजुभाइ हुन् ।

बयानका क्रममा मदनले भनेका छन्, ‘म ज्याला मजदुरी गर्ने सामान्य मानिस हुँ । मलाई दाइले कोषाध्यक्ष बनाए पनि म संस्थाको बैठक र गोष्ठीमा कहिल्यै गइनँ । पक्राउ परेपछि मात्र थाहा भयो कि दाजुले बचतकर्ताको रकम आफ्नै खातामा हालेर हिनामिना गर्नुभएको रहेछ ।’

उनले अध्यक्षसमेत रहेका दाजु प्रदिप महतोले सञ्चालक समितिका अन्य पदाधिकारीलाई कुनै जिम्मेवारी नदिई एकलौटी रूपमा संस्था चलाएको आरोप लगाएका छन् । ‘दाजुले प्रक्रिया पूरा नगरी आफूखुसी ऋण लगानी गर्ने र संस्थाको रकम हिनामिना गर्ने गरेकाले संस्था बन्द भएको हो,’ मदनले बयानमा भनेका छन्, ‘मेरो सहकारीमा न सेयर छ, न त बचत नै । मैले दाजुलाई सिफारिस गरेर कसैलाई बिना धितो ऋण पनि दिलाएको छैन ।’

विराटनगर–१०, मिलसदन रोडस्थित गौतम शर्माको घरमा भाडामा सञ्चालन हुँदै आएको उक्त सहकारी अहिले बन्द अवस्थामा छ । सञ्चालकहरू नै रकम लिएर फरार हुने र पक्राउ पर्ने क्रम बढेपछि बचतकर्ताहरू आफ्नो निक्षेप डुब्ने चिन्तामा छन् । फरार रहेका अध्यक्ष महतोको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्