विराटनगर । नेकपा एमालेको ११औं महाधिवेशनका लागि आज देशभर प्रतिनिधि छनोट हुँदै गर्दा मोरङमा पनि आज निर्वाचन मार्फत प्रतिनिधि छानिदैछन् । लामो समयदेखि पार्टी अध्यक्ष केपी शर्मा ओलीको पकड रहेको मोरङमा यसपटक रोचक समीकरण बन्ने देखिएको छ । विगतमा ओलीको पक्षमा खुलेर राजनीति गरेका व्यक्तिहरुको ठूलो समूहले फरक कित्ता रोजेपछि मोरङमा ओली पक्ष निरीह बन्ने सम्भवना देखिएको हो ।
विशेषगरी पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पक्षबीच देखिएको आन्तरिक प्रतिस्पर्धामा मोरङको क्षेत्र नम्बर ५ मा पोखरेल पक्ष हाबी हुनपुग्यो ।
एमाले मोरङका एक पदाधिकारीले दिएको जानकारी अनुसार, मोरङ क्षेत्र नम्बर ५ मा सर्वसम्मत रुपमा ६ जना प्रतिनिधि छानिएकामा ईश्वर पोखरेल पक्षका ४ जना र अध्यक्ष ओली पक्षका २ जना मात्र प्रतिनिधि समेटिए । यसले पनि मोरङबाट निर्वाचित हुने ४६ प्रतिनिधिमध्ये दुई तिहाई संख्या पोखरेल पक्षधर प्रतिनिधि निर्वाचित हुने सम्भावना देखाएको उनीहरुको दाबी छ ।
मोरङका बाँकी ५ वटा निर्वाचन क्षेत्रमा आज प्रतिनिधि छनोट प्रक्रिया चलिरहेको छ । स्रोतका अनुसार क्षेत्र नम्बर ६ र ४ मा मिश्रित नतिजा आउने देखिएको छ भने क्षेत्र नम्बर २ मा पोखरेल पक्ष नै हाबी हुने अनुमान गरिएको छ । मोरङ क्षेत्र नम्बर १ र ३ मा ओली पक्ष कमजोर रहेको एमाले स्रोतले बताएको छ ।
मोरङ मात्र नभएर कोशी प्रदेशका अन्य पहाडी जिल्लाहरूमा सोलुखुम्बू र भोजपुर बाहेक अन्यत्र ओली पक्ष रक्षात्मक अवस्थामा रहेको ती पदाधिकारीको दाबी छ । उनका अनुसार झापा बाहेक भोजपुर, संखुवासभा, ओखलढुंगा र उदयपुर लगायतका जिल्लामा संस्थापन (ओली) पक्ष कमजोर देखिएको छ । ओखलढुंगामा १३ जना प्रतिनिधिमध्ये संस्थापन पक्ष शून्य हुने उनीहरुको दाबी छ ।
त्यस्तै धनकुटामा राजेन्द्र राईको प्रभावका कारण शेरधन राई (ओली पक्ष) लाई चुनौती थपिएको हो । समग्रमा ओली पक्ष झापा र सोलुखुम्बुमा मात्र बलियो देखिएको छ । यस हिसाबले कोशी प्रदेशबाटै पोखरेल पक्षले भावी अध्यक्षको उम्मेदवार ओलीलाई चुनौती पेस गर्ने सम्भावना बढेर गएको छ ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!