विराटनगर । नेकपा एमालेको एघारौँ महाधिवेशनका लागि आज देशभर प्रतिनिधि छनोट भइरहेको छ ।
केही जिल्लामा सर्वसम्मत चयन भएपनि अधिकांश क्षेत्रमा चुनावी प्रतिस्पर्धामार्फत प्रतिनिधि छान्नुपर्ने अवस्था आएको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
पार्टीका अनुसार ११ मंसिरमा उम्मेदवारी मनोनयन सम्पन्न भइसकेका सबै संघीय निर्वाचन क्षेत्रहरूमा बिहान ८ बजेदेखि मतदान प्रक्रिया सुरु भएको छ । केही क्षेत्रमा भने ११ मंसिरमै सहमति जुटेकाले मतदान आवश्यक परेन ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला, महिला, दलित र युवा कोटासहित करिब २ हजार प्रतिनिधि चयन हुँदैछन् । त्यस्तै प्रवास, जनसंगठन तथा विभिन्न विभागहरूबाट झण्डै १ सय प्रतिनिधि छनोट हुनेछन् । मनोनितसहित महाधिवेशनमा करिब २२ सयभन्दा बढी प्रतिनिधि सहभागी हुने अनुमान गरिएको छ ।
केन्द्रीय संगठन विभागले सिफारिस गरेको र सचिवालयबाट पारित प्रतिनिधि छनोट विधिअनुसार प्रति १२०० संगठित सदस्यका आधारमा खुला दुई र महिला एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने छ । यसमा एक जना ४० वर्षभन्दा कम उमेरका युवा अनिवार्य समावेश गर्न निर्देशन दिइएको छ । त्यसैगरि प्रति ८ सय सदस्यबाट एक महिला प्रतिनिधि, दलितका लागि प्रति ५ सय सदस्यमा एक प्रतिनिधि, ट्रेड युनियनमा प्रदेशगत सात जना तथा जनसंगठनमा ५ देखि ७ जनाको प्रतिनिधित्व हुने व्यवस्था छ ।
केन्द्रीय कमिटी, अनुशासन आयोग, लेखा आयोग, निर्वाचन आयोग तथा सल्लाहकार परिषद् गरी ४६४ जना स्वतः प्रतिनिधि रहनेछन् । प्रवासबाट महादेशअनुसार पाँच प्रतिनिधि रहने व्यवस्था छ ।
एमालेका कुल ६ लाख ६७ हजार ६३० संगठित सदस्यबाट यसपटक झण्डै १९ सयभन्दा बढी निर्वाचित प्रतिनिधि र पाँच प्रतिशत मनोनित प्रतिनिधि रहने अनुमान गरिएको छ । सचिवालयको पछिल्लो निर्णयअनुसार सदस्य अनुपातको आधारमा केही प्रतिनिधि थप हुने सम्भावना रहेको गौतमले बताएका छन् ।
संगठन विभागले केही दिनअघि नै ५ बुँदे निर्देशन जारी गर्दै कुनै पनि बहानामा प्रतिनिधि छनोट प्रक्रिया मंसिर ११ पछि सार्न नपाइने उल्लेख गरेको थियो । सबै प्रतिनिधिको नामावली सोमबारभित्र पठाइसक्न निर्देश दिइएको छ ।
धेरै जिल्लामा कोटाभन्दा बढी उम्मेदवार परेकाले आज चुनावी प्रतिस्पर्धामार्फत प्रतिनिधि चयन भइरहेका छन् । केही जिल्लामा भने शुक्रबार साँझसम्म सर्वसम्मति जुटाएर प्रतिनिधि छानिएको छ । कोशी प्रदेशको भोजपुर, सोलुखुम्बु र ताप्लेजुङ बाहेक सबै जिल्लामा चुनाब हुँदैछ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।