विराटनगर । सरकार र जेनजी आन्दोलनकारीबीच सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ।
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका अगुवा प्रतिनिधिहरूसँग हुने समझदारीलाई आउँदो सोमबारभित्र टुंग्याउन सम्बद्ध अधिकारीलाई निर्देशन दिएकी छन्।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरकार र आन्दोलनकारीबीच सम्झौता मसौदालाई अन्तिम रूप दिने विषयमा विस्तृत छलफल भएको थियो। जेनजीका प्रतिनिधिहरूले सम्झौतामा चाँडो हस्ताक्षर गर्न आग्रह गरेका थिए।
सरकारी अधिकारीहरूले जेनजी आन्दोलनकारीका तर्फबाट प्राप्त कागजातहरू अध्ययन भइरहेको र मसौदालाई अन्तिम रूप दिने काम अन्तिम चरणमा रहेको जानकारी दिएका छन्।
यही सन्दर्भमा प्रधानमन्त्री कार्कीले निर्देशन दिँदै भनिन्—
“अब यो विषय धेरै लम्ब्याउनु हुँदैन। आज सकिन्छ भने आजै, नभए भोलि शनिबार काम गर्नुहोस्। पर्सी आइतबार दिनभर लागे लागोस्, जे–जे हेर्नुपर्छ हेर्नुहोस्। सोमबारभित्र मसौदाले अन्तिम रूप पाउनै पर्छ। हस्ताक्षरका कारण केही बेहोर्नुपरे म बेहोर्छु, मेरो मन्त्रीपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ।”
उनका अनुसार यो राजनीतिक दस्तावेज भएकाले कर्मचारी प्रशासनले अनावश्यक चिन्ता लिन आवश्यक छैन। सरकार र जेनजी आन्दोलनकारीबीच हुने भनिएको सम्झौता देशभर ध्यानाकर्षणको विषय बनेको छ, र दुवै पक्ष सोमबारभित्र सहमति टुंग्याउने तयारीमा जुटेका छन्।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।