विराटनगर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गतको रोमाञ्चक खेलमा विराटनगर किंग्सले कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार साँझ भएको खेलमा कर्णालीले दिएको १६१ रनको लक्ष्य विराटनगरले अन्तिम ओभरको पाँचौँ बलमा पूरा गर्यो।
अन्तिम २ बलमा ४ रन चाहिएको अवस्थामा विराटनगरका बसिर अहमदले छक्का प्रहार गर्दै टोलीलाई जिताए। एक समय १२ ओभरमा ६५ रन बनाउँदा ५ विकेट गुमाएर दबाबमा परेको विराटनगरलाई बसिर अहमद र नारायण जोशीले उकासे।
म्यान अफ द म्याच बनेका बसिरले ४३ बलमा नटआउट ६२ रन (३ चौका, ३ छक्का) बनाए भने नारायण जोशीले २५ रनको महत्त्वपूर्ण योगदान दिए।
यसअघि टस जितेर ब्याटिङ गरेको कर्णालीले ३ विकेटको क्षतिमा १६० रन जोड्यो। ओपनर प्रियांक पञ्चालले ६३ रनको अर्धशतकीय पारी खेले भने विल बोसिस्टोले नटआउट ४८ रन बनाए।
कर्णालीका सोमपाल कामी र गुल्सन झाले २–२ विकेट लिए। विराटनगरका सन्दीप लामिछाने र मर्स्याङ डि लाङले १–१ विकेट हात पारे। यो जितसँगै ५ खेल खेलेको विराटनगरले चौथो जित दर्ता गराएको छ भने ४ खेल खेलेको कर्णालीको यो तेस्रो हार हो।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!