रङ्गेली । १६ दिने महिला हिंसा विरुद्ध अभियान अन्तर्गत मोरङको रङ्गेली नगरपालिकाले यही मङ्सिर १४ गते आइतबार किशोरी स्वास्थ्य मेला–२०८२ आयोजना गर्ने भएको छ ।
उमेर समूह १० वर्षदेखि १८ वर्षसम्मका बालिकाहरूलाई लक्षित गरी मेला आयोजना गरिएको नगरपालिकाले जनाएको छ। किशोरी अवस्थाका समस्याहरू बालविवाह बालश्रमिक चेलीबेटी बेचबिखन लागू पदार्थ दुव्र्यसन महिनावारी प्रजनन् स्वास्थ्य महिला हिंसा लगायतका विषयमा विज्ञहरूबाट परामर्श तथा सुझाव दिने उद्देश्यले किशोरी मेला आयोजना गरिएको नगरपालिकाकी उपप्रमुख भूमाकुमारी पराजुलीले जानकारी दिइन ।
मेलामा २० वटा भन्दा बढी स्टलहरू रहने, विज्ञद्वारा किशोरीहरूलाई सकारात्मक विषयमा सहजीकरण गर्ने जनाइएको छ । मेलामा वरिष्ठ डाक्टरहरू वरिष्ठ नर्सहरू कोशी प्रदेश अन्तर्गतका सामाजिक संघसंस्थाहरू सहभागी हुनेछ ।
नेपालमै पहिलोपटक किशोरी मेलाको आयोजना रङ्गेली नगरपालिकाले गर्ने तयारी गरेको दाबी गरिएको छ ।
नगरपालिका अन्तर्गत सामुदायिक र संस्थागत विद्यालयहरूमा अध्ययनरत कक्षा ६ देखि कक्षा १२ सम्मका छात्रा विद्यार्थीहरुलाई लक्षित गरी मेला आयोजना गरिएको प्रशासकीय अधिकृत प्रदीप साहले बताए । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा कोशी प्रदेश सभाका महिला सांसदहरू, मोरङ जिल्ला अन्तर्गतका पालिका उपप्रमुखहरूको सहभागितालाई मेलाको मुख्य आकर्षकको रुपमा नगरपालिकाले अथ्र्याएको छ ।
किशोरी शक्ति समाजकै ऐना भएकाले किशोरीहरूको शारीरिक र मानसिक समस्याहरू समाधान गर्ने उद्देश्यले मेला आयोजना गरिएको नगरपालिकाले जनाएको छ।




अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!