विराटनगर । नेपाली कम्युनिस्ट पार्टीका नेता डा. भीम रावलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्।
शुक्रबार सुदूरपश्चिमको धनगढीमा आयोजित ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै नेता रावलले एमालेको बहुचर्चित ‘मिसन ०८४’ अभियान ‘पतन ०८४’ मा परिणत हुने दाबी गरे। उनले आफूले यसअघि नै यस्तो भविष्यवाणी गरिसकेको स्मरण समेत गराए।
‘मैले त्यही बेलामा भनेको थिएँ, मिसन ०८४ होइन पतन ०८४ आउँदैछ,’ सभालाई सम्बोधन गर्दै रावलले भने।
सम्बोधनका क्रममा रावलले पुर्व प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले जनतालाई तर्साउने र भ्रममा पार्ने काम गरेको आरोप लगाए। बंगलादेश लगायतका देशमा भएका ‘जेनजी’ आन्दोलनको सन्दर्भ कोट्याउँदै उनले ओलीले डढेका संरचनाको उदाहरण दिएर त्रास फैलाउन खोजेको बताए।
‘आज केपी ओलीजी (जेनजी आन्दोलनमा जलेका संरचनाको) खरानी धसेर जनतालाई तर्साउन खोज्दै हुनुहुन्छ,’ उनले भने । नेता रावलले अब सुदूरपश्चिमका जनता राष्ट्रिय स्वाधिनताको रक्षाका लागि झण्डा बोकेर सडकमा उत्रने विश्वास व्यक्त गरे। आगामी निर्वाचनका लागि आफ्नो पार्टी विगतका गल्ती–कमजोरीहरू सच्याउँदै ताजा जनादेश लिन तयार रहेको उनको भनाइ थियो।
‘आउने निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टी जनताको ताजा जनादेश लिन तयार छ। विगतका कुनै पनि गल्ती त्रुटिलाई दोहोरिन नदिइ निर्वाचन सम्पन्न गराउन तयार छ,’ रावलले उद्घोष गरे।
उनले सुदूरपश्चिमबाटै नेपाली कम्युनिस्ट पार्टी देशको पहिलो शक्ति बन्ने दाबी समेत गरे। रावलले भने, नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिमबाट एक नम्बरमा आयो आयो भन्ने सन्देश अहिलेको सभाले दिएको छ। चुनावमा समेत हामी एकजुट भएर सबै जाती, भाषा, धर्म क्षेत्रका जनता एकजुट हुनेछौं।’



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!