लोड हुँदैछ...

मेनु

एमाले महाधिवेशन : मोरङ–५ बाट प्रतिनिधि सर्वसम्मत, को–को छानिए ?

एमाले महाधिवेशन : मोरङ–५ बाट प्रतिनिधि सर्वसम्मत, को–को छानिए ?

विराटनगर । नेकपा एमालेको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ क्षेत्र नम्बर ५ बाट महाधिवेशन प्रतिनिधिहरू सर्वसम्मत रूपमा चयन भएका छन् ।

सहमति पछि खुला, महिला र युवा तर्फका प्रतिनिधिहरू निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन समितिले दिएको जानकारी अनुसार खुला तर्फबाट ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल र दिलिप बगडिया सर्वसम्मत चयन भएका छन्। यस्तै, महिलातर्फ उषा झा र शान्ता डंगोल तथा युवातर्फ मो. हमिद आजाद सर्वसम्मत रूपमा निर्वाचित भएका छन् । यद्यपि, निर्वाचन समितिले सर्वसम्मत भएको नामावली औपचारिक रूपमा सार्वजनिक गर्न भने बाँकी छ।

सर्वसम्मत चयन भएका प्रतिनिधिहरूमा संस्थापना र संस्थापना इतर दुवै समूहको प्रतिनिधित्व रहेको छ। चयन भएकामध्ये दिलिप बगडिया र शान्ता डंगोल संस्थापना पक्षका नेताहरू हुन् । त्यस्तै, ज्ञानेश्वर राजवंशी, मनोज अग्रवाल, उषा झा र मो. हमिद आजाद संस्थापना–इतर समूहका नेताका रूपमा चिनिन्छन् ।

यसअघि मोरङ क्षेत्र नं. ५ बाट प्रतिनिधि पदका लागि १४ जनाले मनोनयन दर्ता गराएका थिए । आपसी सहमतिका आधारमा उम्मेदवारी फिर्ता गराउँदै नेतृत्व सर्वसम्मत टुंग्याइएको हो ।

मोरङका अन्य क्षेत्रहरूमा भने सर्वसम्मत नेतृत्व चयन हुन सकेको छैन। क्षेत्र नं. १, २, ३, ६ तथा दलित कोटामा निर्धारित संख्याभन्दा बढी उम्मेदवार रहेकाले निर्वाचन प्रक्रियामार्फत प्रतिनिधि चयन गरिने निर्वाचन समितिले जनाएको छ।
आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि मोरङ जिल्लाबाट कुल ४६ जना प्रतिनिधि चयन हुनेछन् । देशभरका प्रतिनिधिहरू शनिबार एकैदिन चयन गर्ने कार्यक्रम अनुसार निर्वाचन प्रक्रिया अघि बढेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds