विराटनगर । जेनजी आन्दोलनका क्रममा क्षति पुगेको विराटनगरको सिसिटिभी क्यामारा र सर्भर प्रणाली मर्मतको लागि २४ लाख रुपैयाँ बराबरको सहयोग प्राप्त भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङलाई साढे २४ लाख रुपैयाँ बराबरका उपकरण सामाजिक उत्तरदायित्वअन्तर्गत विराटनगरका उद्योगी–व्यवसायीको छाता संघ र सिसिटिभी सप्लायर प्लाजा सेल्स विराटनगरले उपलब्ध गराएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङमा आयोजित कार्यक्रममा एसपी कवित कट्वाललाई प्लाजा सेल्सका प्रमुख अभिलाश वंशल र चीनका प्रतिनिधि डोजन जाईले युनिभ्यू ब्रान्डका उपकरण र सम्झौता–पत्र हस्तान्तरण गरेका थिए । कुल २९ थान सिसिटिभी क्यामारा, ५४ थान प्याच कर्ड, २७ थान पावर एडेप्टर, १२ जोडी मिडिया कन्वर्टर, २४५ मिटर फाइबर केबलसहितका उपकरण प्राप्त भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
सीसी क्यामरासहितको उपचकरणको लागि उद्योग संगठन मोरङ, मोरङ उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिसंघ कोशी प्रदेश, नेपाल वाणिज्य महासंघ कोशी प्रदेशलगायत प्रतिष्ठित व्यवसायिक संघ–संस्थाबाट करिब साढे १० लाख रुपैयाँ बराबरको सहयोग जुटाइएको थियो । प्लाजा सेल्स विराटनगरले भने १४ लाख रुपैयाँ बराबरका अत्याधुनिक सिसिटिभी उपकरण उपलब्ध गराएको हो ।
जेनजी आन्दोलनका घटनामा विराटनगर महानगरदेखि बुढीगंगासम्म सञ्चालनमा रहेका १५६ मध्ये १२२ वटा सिसिटिभी प्रणालीमा क्षति पुगेको प्रहरीले जनाएको छ । सामग्री ग्रहण गर्दै एसपी कट्वालले असुरक्षा अनुभूति बढिरहेको अवस्थामा प्राप्त सहयोगले विराटनगर बजारको सुरक्षामा ठूलो मद्दत पुग्ने बताए ।
प्लाजा सेल्सका प्रमुख अभिलाश वंशलले नेपालभर आधुनिक सुरक्षा प्रणाली मजबुत बनाउनका लागि मोरङ प्रहरीलाई सहयोग गरिएको बताएका छन् ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!