अध्यक्षमा उम्मेदावारी घोषणा गरेका पोखरेललाई एमालेबाट विदा हुन बस्नेतको चेतावनी

अध्यक्षमा उम्मेदावारी घोषणा गरेका पोखरेललाई एमालेबाट विदा हुन बस्नेतको चेतावनी

विराटनगर । आगामी महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पार्टीबाट बिदा लिन अध्यक्ष केपी ओली निकट नेता महेश बस्नेतले धम्की दिएका छन् ।

एमालेको पोलिटब्युरो सदस्य रहेका बस्नेतले केपी ओलीको नेतृत्वमा पार्टीको एकतामा योगदान गर्न नसक्ने हो भने ‘सहर्ष बिदा’ लिन भनेका हुन् ।

पोखरेलद्वारा जारी गरिएको विज्ञप्तिले पार्टीभित्र अनावश्यक तरंग, प्रतिस्पर्धा र द्वन्द्वको वातावरण सिर्जना गरेको भन्दै बस्नेतले सामाजिक सञ्जालमा फेसबुकमार्फत पोखरेललाई पार्टी छोड्न भनेका हुन् । ‘यदि योगदान गर्न सकिन्छ भने निसर्त एकता, सकिँदैन भने सहर्ष विदाइ नै ईश्वर पोखरेलको निम्ति सही विकल्प हो’ उनले लेखेका छन् ।

‘पार्टी चुनावतिर अघि बढ्दैछ, राष्ट्रिय राजनीति निर्णायक मोडमा छ, विदेशी–स्वदेशी शक्तिहरू एमाले र अध्यक्ष ओलीमाथि निरन्तर प्रहार गरिरहेका छन्। यस्तो अवस्थामा प्रतिस्पर्धा होइन, नेतृत्वको स्थिरता पार्टीलाई मजबुत बनाउने बाटो हो’ बस्नेतको भनाइ छ, ‘अनेक प्रोपगान्डा गरेर कमजोर बनाउने अर्को चक्र नबनोस् ।’

बस्नेतले एमालेको निम्ति आजको प्रश्न ‘कसले नेतृत्व दाबी गर्छ’ भन्ने नभएको भन्दै कसले पार्टी बचाउन सक्छ भन्ने भएको बताएका छन् । वर्तमान राष्ट्रिय परिस्थिति, भू–राजनीतिक उतारचढाव र एमालेमाथिको योजनाबद्ध प्रहारबीच पार्टीलाई मजबुत संगठन, सही कार्यदिशा र जुझारू सशक्त क्रान्तिकारी पंक्ति चाहिएको उनको भनाइ छ । त्यो केपी ओलीकै नेतृत्वमा सम्भव भएको उनको भनाइ छ।

‘एमालेभित्र बाहिरी आक्रमण रोक्न चाहिने कुरा प्रतिस्पर्धा एकता, अनुशासन र संगठनको दृढताबाट मात्र सम्भव हुन्छ’ बस्नेतले लेखेका छन् । व्यक्तिगत आकांक्षा कहिल्यै पार्टीभन्दा ठूलो हुन नहुने उनको भनाइ छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्