धरान । नेकपा एमालेको सुनसरी क्षेत्र नम्बर–१ मा महाधिवेशन प्रतिनिधि छनौटको विषयलाई लिएर उत्पन्न विवादमा एमाले सुनसरीका जिल्ला सदस्यमाथि कुटपिट भएको छ ।
एमाले नेता एवं पूर्वमुख्यमन्त्री भीम आचार्यका स्वकीय सचिव रहेका एमाले जिल्ला कमिटी सदस्य अनिल राजधामीमाथि एमालेकै कार्यकर्ताले कुटपिट गरेका हुन् ।
एमाले धरान कार्यालय नजिकै बिहीबार बेलुका युवा संघ कोशी इञ्चार्ज दिवस राई, धरान–१० का वडाध्यक्ष विवेक राईसहितको समूहले राजधामीलाई कुटपिट गरेको हो । कुटपिटबाट घाइते भएका उनलाई उद्धार गरी बिजयपुर अस्पतालमा भर्ना गरिएको थियो ।
युवा प्रतिनिधिका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राजधामीमाथि उम्मेदवारी फिर्ताको दबाब दिँदै कुटपिट भएको हो । एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलको समूहसँग नजिक रहेका उनलाई उम्मेदवारी फिर्ता गर्न नमानेपछि कुटपिट भएको हो ।
केपी ओली पक्षधरले उनलाई कुट्दै उम्मेदवारी फिर्ताको कागजमा जबरजस्ती हस्ताक्षर गराएका छन् । रामधामीले आफूमाथि आक्रमण भएको जानकारी दिँदै अस्पतालमा उपचारको क्रममा रहेको बताए । उनले आफ्नो उम्मेदवारी कायम रहेको बताएका छन् ।
युवातर्फको १ प्रतिनिधिका लागि राजधामीसहित कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्की जनसम्पर्क सल्लाहकार रवि खनाल, आर्जन वाग्ले, योगेशबाबु काफ्ले र दिवस वान्तवा राईले उम्मेदवारी दर्ता गरेका छन् ।
बिहीबार दिउँसो सर्वसम्मत गर्ने भन्दै छलफलमा रामधामीलाई बोलाइएको थियो । उनले चुनाव लड्ने बताए अडान लिएका थिए । ‘निर्वाचन नगर्ने पार्टी नेतृत्वले गरेको निर्णय मन्जुर छ भनि कागजमा चार जनालाई सही गराइएको थियो, उसले नमानेपछि कुटपिट भयो,’ रामधामी निकट एक नेताले भने ‘कुटपिटपछि उनलाई पार्टीले गरेको निर्णय मान्य हुन्छ भन्ने कागजमा सहीछाप गर्न लगाइएको छ ।’
एमाले धरान नगरकमिटी अध्यक्ष हर्कराज एभेङका अनुसार युवा प्रतिनिधि उम्मेद्वारबीचको विवाद मिलिसकेको छ । सामान्य विवाद भएको बताउँदै उनले मिलापत्र भइसकेको दावी गरे ।
अनिलको अनुहारमा चोट लागेको स्वीकार गर्र्दै उनले उपचारपछि घर फर्किसकेको दावी गरेका छन् । अनिलले भने उपचारको क्रममा अस्पतालमै रहेको र आफ्नो उम्मेदवारी कायमै रहेको बताएका छन् । आफूलाई योजनाबद्ध रूपमा आक्रमण गरिएको तथा दिवस र विवेकको समूहले कुटपिट गरेको उनको भनाइ छ ।






प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।