विराटनगर । पोर्चुगलले फिफा यू–१७ विश्वकप फुटबलको उपाधि जितेको छ। कतारको दोहास्थित खालिफा अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न फाइनल खेलमा अस्ट्रियालाई १–० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले इतिहास रचेको हो। पोर्चुगलले यू–१७ उमेर समूहको विश्वकप उपाधि जितेको यो पहिलो पटक हो।
उपाधि भिडन्तमा पोर्चुगललाई च्याम्पियन बनाउन फरवार्ड एनेसियो काब्राल नायक बने। खेलको ३२ औँ मिनेटमा काब्रालले गरेको एक मात्र गोल नै खेलको निर्णायक बन्यो। अस्ट्रियाले खेलमा फर्कने प्रयास गरे पनि पोर्चुगलको बलियो रक्षापंक्ति तोड्न नसक्दा उपविजेतामा चित्त बुझाउन बाध्य भयो।
यसैगरी, तेस्रो स्थानका लागि भएको खेलमा इटालीले जित हासिल गरेको छ। निकै प्रतिस्पर्धात्मक खेलमा इटालीले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै तेस्रो स्थान पक्का गरेको हो।
यसअघि सेमिफाइनल समीकरणमा पोर्चुगलले ब्राजिललाई र अस्ट्रियाले इटालीलाई हराउँदै फाइनलमा स्थान सुरक्षित गरेका थिए। फिफाको यो संस्करणको यू–१७ विश्वकपमा कुल ४८ राष्ट्रको सहभागिता रहेको थियो।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!