विराटनगर । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनौटका लागि मोरङमा सहमति जुट्न सकेको छैन । यहाँ संस्थापन पक्ष र इतर पक्षले प्यानल नै बनाएर प्रतिस्पर्धा गरिरहेका छन् ।
एमाले मोरङका उपाध्यक्ष सागर थापाले आफूहरु प्यानल बनाएरै चुनावी प्रतिस्पर्धामा गएको बताए । उनी संस्थापन इतर पक्षका हुन् । उता, संस्थापन पक्षका नेता राजकुमार ओझाले पनि यसअघि जिल्ला अधिवेशनकै प्यानलका आधारमा प्रतिनिधिहरु छनौट भइरहेको बताए ।
यसैबीच झापामा प्रतिनिधि छनौटका लागि जिल्लाको ५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र दलित जिल्ला इकाईमा मनोनयन दर्ता भइरहेको जिल्ला निर्वाचन विभागका प्रमुख दिपेन्द्र लम्सालले जानकारी दिए ।
निर्वाचन विभागका प्रमुख लम्सालका अनुसार निर्वाचन कार्यतालिका बमोजिम मंसिर १० गते अन्तिम मतदाता नामावली नामावली प्रकाशन गरिएको छ । ११ गते मनोनयन दर्ता, १२ गते उम्मेदवारी फिर्ता र १३ गते निर्वाचन हुने उनको भनाइ छ ।
निर्वाचन विभागले पार्टीको केन्द्रीय नीति बमोजिम प्रतिनिधि छनौटमा गुट र समूह निर्माण गर्न पूर्ण प्रतिबन्ध लगाएको जनाएको छ । प्रतिनिधि छनौटका लागि जिल्लामा अधिकतम सर्वसम्मतका लागि प्रयास गरिने विभाग प्रमुख लम्सालको भनाई छ ।
उता, सोलुखुम्बुले नेकपा एमालेको ११ औँ महाधिवेशनको लागि सर्वसम्मत प्रतिनिधि छनौट गरेको छ । निर्वाचन समितिका संयोजक वीर उदास श्रेष्ठ अनुसार जिल्लाले महाधिवेशनका लागि ६ जना प्रतिनिधिको कोटा पाएको थियो । ती सबै पदमा एक एक जनाको मात्र उम्मेदवारी परेकोले निर्वाचित घोषणा गरिएको संयोजक श्रेष्ठले जानकारी दिए ।
श्रेष्ठका अनुसार छनौट भएका सर्वसम्मत भएका प्रतिनिधिहरूमा खुल्लातर्फ बुद्धिकुमार राजभण्डारी र डुफ कुमार बास्तोला रहेका छन् । उत्पीडित तर्फ डि.बि रनपाल निर्वाचित भएका छन् । महिलातर्फका दुई जनामा कल्पना राई र मोहन कुमारी कार्की निर्वाचित भएका छन् । ४० वर्ष भन्दा मुनीको युवातर्फ जगनाथ बास्तोला निर्वाचित भएको श्रेष्ठले बताए ।




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।