काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताबीच छलफल भएको छ । छलफलका क्रममा कार्कीले एमालेलाई आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरेकी छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलका क्रममा प्रधानमन्त्री कार्कीले सरकार तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्न गम्भीरतापूर्वक लागेको बताउँदै एमाले नेताहरूलाई चुनावी प्रक्रियामा सामेल हुन आह्वान गरेकी हुन्।
छलफलपछि एमाले नेता महेश बर्तौलाले प्रधानमन्त्रीको आग्रहमा आफूहरूले सकारात्मक जवाफ दिएको जानकारी दिए। उनका अनुसार, निर्वाचनको निष्पक्ष र उचित वातावरण सिर्जना भए एमाले भाग लिन तयार रहेको छ।
बर्तौलाले भने, ‘लोकतान्त्रिक मूल्यमान्यताका लागि सङ्घर्ष गरेको पार्टी भएकाले जनतामाझ परीक्षण हुन एमाले कहिल्यै डराउँदैन। तर, सरकारले चुनावी सुरक्षा र निष्पक्षताको ग्यारेन्टी गर्नुपर्छ भन्ने सुझाव हामीले दिएका छौँ।’
भेटवार्तापछि सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले प्रधानमन्त्रीले औपचारिक रूपमै एमालेलाई चुनावमा आउन आग्रह गरेको बताए। मन्त्री खरेलले भने, ‘एमाले नेताहरूले आफूहरू निर्वाचनबाट नभाग्ने तर निष्पक्ष वातावरण हुनुपर्ने बताउनुभयो। यो छलफलपछि निर्वाचनका सन्दर्भमा रहेका आशङ्काहरू धेरै हदसम्म हटेको महसुस भएको छ।’ उक्त छलफलमा एमालेका तर्फबाट महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र नेता महेश बर्तौलाको सहभागिता रहेको थियो।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!