झाडीमा परिणत भयो विराटनगरको बैजनाथपर रंगशाला, खेलकुदको जग्गामा व्यक्तिको खेती

झाडीमा परिणत भयो विराटनगरको बैजनाथपर रंगशाला, खेलकुदको जग्गामा व्यक्तिको खेती

विराटनगर । संघीय सरकारले ‘गौरवको आयोजना’ मा राखेको मोरङको बैजनाथपुर क्रिकेट रंगशाला अहिले झाडी र लागूऔषध प्रयोगकर्ताको अखडामा परिणत भएको छ।

विराटनगर–१९ स्थित यो रंगशालामा राज्यको ३ करोडभन्दा बढी लगानी बालुवामा पानी सरह भएको छ भने खेलकुदको जग्गामा व्यक्तिले निजी खेती गरिरहेका छन्।

करिब २५ वर्षअघि खरिद गरिएको १५ बिघा १५ धुर जग्गामा निर्माण भएका संरचना संरक्षण अभावमा जीर्ण बनेका छन्। १ करोड ७० लाख खर्चेर बनाइएको क्रिकेट पिच र मैदान ५ फिट अग्लो सिरु झार र जंगली लहराले ढाकिएको छ। २०७३ सालमा ५८ लाख खर्चेर बनाइएको सुटिङ हल अहिले लागूऔषध प्रयोगकर्ताको सुरक्षित अखडा बनेको छ भने ३३ लाखको सफ्ट टेनिस कोर्टको अवस्था उस्तै नाजुक छ।

रंगशालाको ५ बिघा जग्गामा विगत ११ वर्षदेखि स्थानीय केयरटेकरले निजी धान खेती गर्दै आएका छन्। जिल्ला खेलकुद विकास समितिले तलब दिन नसकेपछि रेखदेख गर्ने सुक्रेतलाल र देवकी सरदारलाई मौखिक सहमतिमै खेती गरेर खान दिएको खुलेको छ। २०७४ सालदेखि तलब नपाएपछि आफूहरूले ‘हाकिमहरूकै सल्लाहमा’ खेती गरेको सरदार बताउँछन्। जिल्ला खेलकुद विकास समितिका प्रमुख राजन पोखरेलले पनि बजेट अभावमा तलब दिन नसक्दा खेती गर्न दिइएको स्वीकार गरेका छन्।

स्वर्गीय गिरिजाप्रसाद कोइरालाको पहलमा २०५५ सालमा किनिएको यो जग्गा हरेक निर्वाचनमा दलहरूको ‘भोट माग्ने भाँडो’ मात्र बनेको छ। महेश आचार्यदेखि अमनलाल मोदी र मुख्यमन्त्री हिक्मत कार्कीसम्मले रंगशाला बनाउने वाचा गरे पनि चुनाव जितेपछि फर्केर नहेरेको स्थानीयको गुनासो छ।

कराते प्रशिक्षक राम लिम्बु भन्छन्, ‘यत्रो पैसा खर्च भयो तर संरचना केही देखिँदैन। विराटनगरजस्तो ठाउँमा व्यवस्थित रंगशाला नहुनु र भएको पनि मासिँदै जानु दुर्भाग्यपूर्ण हो।’

सरोकारवाला निकायहरू भने एकले अर्कालाई दोष दिँदै पन्छिने गरेका छन्। प्रदेश खेलकुद विकास बोर्ड र जिल्ला समितिले यो राष्ट्रिय खेलकुद परिषद् (राखेप) को क्षेत्राधिकार भन्दै जिम्मेवारीबाट पन्छिने गरेका छन्।

यहाँको क्रिकेट मैदान निमार्णमा मात्रै १ करोड ७० लाख रुपैयाँ खर्च भएको छ । आज त्यही क्रिकेट मैदानको पिचमा खेलाडीको दौड होइन, पाँच फिट अग्लो सिरु झार र जंगली लहराको ढाकेको छ । मैदानको उत्तर र दक्षिणपट्टि रहेका स्कोरबोर्डहरू लहराले छोपिएको छ । तिनको अस्तित्वसमेत चिन्न मुस्किल पर्छ । साइड स्क्रिनको हालत पनि उस्तै छ । तारजाली लगाएर घेरिएको क्रिकेट मैदानभित्रको दृश्य कुनै आरक्ष क्षेत्रको झाडीभन्दा कम छैन ।

क्रिकेट संघ मोरङ अध्यक्ष मोहम्द साद बाबुले सातौ राष्ट्रिय प्रतियोगितामा क्रिकेट र त्यसपछि केही प्रतियोगिता गराउनेबाहेक अरू केही नभएको बताए । अहिले प्रतियोगिता नहुदाँ र संरक्षण अभावले लथालिंग भएको उनले बताए ।
बैजनाथपुर रंगशालाको विकल्प विराटनगरका लागि छैन । विराटनगरमा भएको शहीद रंगशाला साँघुरो भइसकेको छ । अन्य खेलकुदका संरचना पर्याप्त छैनन् । निर्माण गर्ने स्थानको पनि अभाव छ । त्यस कारण पनि बैजनाथपुर रंगशालाको विकल्प नभएको क्रिकेट संघ मोरङ अध्यक्ष बाबुको भनाई छ । कसैलाई रिझाउने मात्रै काम भइरहेको तर रंगशाला निर्माणको कामले गति लिन नसकेको उनले बताए ।

प्रदेश खेलकुद विकास बोर्ड कोशीका कार्यालय प्रमुख कालिदास भट्टराईका अनुसार, यो आयोजना सोझै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हेर्ने भएकाले आफूहरूलाई बजेट र अवस्थाबारे कुनै जानकारी नभएको बताए । उता, जिल्ला खेलकुद विकास समिति, मोरङका कार्यालय प्रमुख राजन पोखरेलले पनि राखेपले नै सबै हेर्ने भन्दै पन्छिन्छन् । ‘यो रंगशालामा निमार्ण भएको संरचनाको विषयमा राखेपमा बुझ्नु पर्दछ । यस विषयमा मलाइ केही थाहा छैन,’ उनले भने ।

विगतमा यो रंगशाला अनियमितताको विवादमा पनि मुछिएको थियो । चार वर्षअघि तत्कालीन सामाजिक विकासमन्त्री जीवन घिमिरेले अन्तर्राष्ट्रिय स्तरको पिच बनाउन ३० लाख रुपैयाँ विनियोजन गरेका थिए । तर उक्त रकम खाल्डोमा माटो पुरेरै सकिएको आरोप लागेको थियो । करातेका अन्तर्राष्ट्रिय खेलाडी राम लिम्बू यत्रो पैसा खर्च भयो तर संरचना केही देखिँदैन, यसमा आन्यमितताकोे आशंका रहेकोले छानविन गरिनुपर्ने बताए । विराटनगर जस्तो प्रदेशको राजधानीमा एउटा व्यवस्थित रंगशाला नहुनु आफैँमा दुर्भाग्यपूर्ण भएको उनले बताए । शहीद रंगशाला साँघुरो भइसकेको छ र अन्य खेल पूर्वाधारको अभाव छ । यस्तो अवस्थामा बैजनाथपुर रंगशाला एक मात्र विकल्प हो । तर, राजनीतिक इच्छाशक्तिको कमी, भ्रष्टाचार, प्रशासनिक उदासीनता र निरन्तरको बेवास्ताले यो ‘गौरवको आयोजना’ आज आफैँमा एक ‘राष्ट्रिय लज्जा’ बनेको उनले बताए ।

ऐन्फाको पुर्व सहायक महासचिव तथा बैजनाथपुर क्रिकेट मैदानको लागि जग्गा खरिद गर्दाका साची बसन्त अर्यालले दुई दशकअघि यो जमिन किन्दै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादले पनि त्यहाँ क्रिकेट र फुटबलसहित अन्य खेलकुदको कम्प्लेक्स बनाउने आश्वासन दिनुभएको बताए । ‘तत्कालीन प्रधानमन्त्रीले समेत बोलेको कुरा हो । त्यसयता प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरु पनि आएर निरीक्षण पनि गरे । अहिलेसम्म यो रंगशालाले गति लिन पाएको छैन,’ उनले भने, ‘अहिले यसको संरक्षण हुन नसक्दा सरकारी जग्गामा खेती लगाएको छ । खेलकुदको लागि किनेको जग्गामा यसरी व्यक्तिले खेती गर्नु भनेको यो दुर्भाग्य हो ।’

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्