विराटनगर । गत भदौ २३ र २४ गते झापामा भएको ‘जेनजी आन्दोलन’ क्रममा झापामा प्रहरी कार्यालय तोडफोड गरी लुटिएकामध्ये २० थान हतियार अझै भेटिएका छैनन् जिल्ला प्रहरी कार्यालय झापाका अनुसार लुटिएका १०३ थान हतियारमध्ये नेपाली सेना र प्रहरीको सक्रियतामा ८३ थान बरामद भइसके पनि २० थान हतियार अझै भेटिएका छैनन् ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र बहादुर खड्काले हतियार लुटपाटमा लागुऔषध प्रयोगकर्ता र दुर्व्यसनीको सक्रिय संलग्नता रहेको बताएका छन् । लुटिएका हतियारको प्रकृति र बरामद भएका स्थानहरू हेर्दा यो कार्यमा लागुऔषध सञ्जालको प्रत्यक्ष हात देखिएपछि प्रहरीले अहिले लागुऔषध कारोबारी र प्रयोगकर्ताको सञ्जालमाथि निगरानी बढाएको छ । आन्दोलनको फाइदा उठाउँदै लागुऔषध दुर्व्यसनीहरूले प्रहरी कार्यालयबाट हतियार र भान्साका सामान समेत चोरेका थिए ।
लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाले बिर्तामोड–२ रामचोकस्थित लागुऔषध प्रयोगकर्ताको डेरामा छापा मार्दा एसएलआरको ३८ राउण्ड र इन्सासको १६ राउण्ड गोलीसहित प्रहरीको बुट, काँसका थाल, करुवा र गिलास बरामद गरेको थियो । सो घटनामा संलग्न स्थानीय २२ वर्षीय विकास टुडु र घरधनी इस्रप खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियार लुकाउन अपराधीहरूले पहाडी जिल्लाको विकट ओडार प्रयोग गरेको अर्को तथ्य पनि खुलेको छ । दमक–६ बाट पक्राउ परेका २२ वर्षीय सुशील फियाक (लिम्बु) को बयानका आधारमा प्रहरीले पाँचथरको मिक्लाजुङ–३, आरुबोटेस्थित ओडारबाट एक थान थ्री नट थ्री राइफल र आगोले जलेर क्षति भएको एक थान इन्सास राइफल बरामद गरेको थियो ।



अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!