बजार संकट झेल्दै आएको डिडिसीले छुर्पी उद्योगलाई बेच्न थाल्यो छेना

बजार संकट झेल्दै आएको डिडिसीले छुर्पी उद्योगलाई बेच्न थाल्यो छेना

विराटनगर । कोशी प्रदेशबाट दुग्धजन्य पदार्थ ‘छुर्पी’ (डग च्यु) को निर्यात बढेपछि बजार अभावमा संकट झेलिरहेको सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले राहत महसुस गर्न थालेको छ । छुर्पीको माग धान्न निजी क्षेत्रको अग्रणी निर्यातकर्ता कम्पनी मनराम हिमालयन ह्यान्डीक्राफ्ट प्रालिले डीडीसीसँग ठूलो परिमाणमा ‘छेना’ (दुध फटाएर बनाइने वस्तु) खरिद गर्न थालेपछि दुवै पक्षलाई लाभ मिलेको हो ।

पछिल्लो समय डीडीसीले बजार गुमाउँदै गएर दुध बिक्री गर्न सकिरहेको थिएन । त्यसै क्रममा मनराम हिमालयनले डीडीसीको विराटनगर आयोजनाबाट मासिक २५ हजार किलो छेना खरिद गरिरहेको छ ।
डीडीसी विराटनगर आयोजनाका निमित्त प्रमुख हिरबहादुर मगरका अनुसार निजी उद्योगले छेना उठाइदिँदा संस्थानलाई ठूलो राहत मिलेको छ । “बजारमा दुध नबिक्दा हामीले पाउडर बनाउनुपर्ने बाध्यता थियो, जसको लागत महँगो पर्छ,” मगरले भने, “अहिले छेना बनाएर सिधै बिक्री गर्न थालेपछि पाउडर प्लान्ट कहिलेकाहीँ मात्र सञ्चालन गरे पुग्ने भएको छ । यसले हाम्रो प्रशोधन खर्च घटाएको छ भने स्टक रहने समस्या पनि कम भएको छ ।”

निजी क्षेत्रको मनराम हिमालयनलाई पनि यसले फाइदा पुगेको छ । कम्पनीका सञ्चालक राजेन्द्रकुमार श्रेष्ठका अनुसार डीडीसीबाट तयारी छेना पाउँदा दुध संकलन गर्ने र त्यसलाई फटाएर छेना बनाउने प्रोसेसिङको झन्झट र खर्च बचत भएको छ । डिडिसी विराटनगरका प्रमुख हिरबहादुर मगरले छेना बिक्री गर्न पाउँदा आयोजनालाई केही राहत पुगेको बताए ।

झापामा मुख्य कार्यालय रहेको मनराम हिमालयन ह्यान्डीक्राफ्टले कोशी प्रदेशबाट ‘डग च्यु’ (कुकुरको आहार) का रूपमा छुर्पी उत्पादन तथा संकलन गरी अमेरिका निर्यात गर्दै आएको छ । सन् २००७ मा नमुनाका रूपमा जम्मा ४ किलो छुर्पी अमेरिका पठाएर सुरु भएको यो व्यवसाय अहिले कोशी प्रदेशकै लोभलाग्दो निर्यात उद्योग बनेको छ ।

श्रेष्ठले भने, “सुरुमा ४ किलो पठाएका थियौं, सन् २०१० मा पहिलो पटक एक कन्टेनर छुर्पी निर्यात गर्न सफल भयौं । त्यसयता हामीले पछाडि फर्कनु परेको छैन, अहिले निरन्तर कन्टेनरमै निर्यात भइरहेको छ ।”

हाल कम्पनीले मासिक सरदर १ लाखदेखि १ लाख २५ हजार किलोसम्म छुर्पी अमेरिकास्थित ‘हिमालयन ट्रेड’ मार्फत निर्यात गर्दै आएको छ । श्रेष्ठका अनुसार सिजनमा मासिक डेढ लाख किलोसम्म छुर्पी संकलन हुने गरेको छ ।

दैनिक ६० हजार लिटर दुधको छुर्पी उत्पादन गर्ने क्षमता रहेको यो उद्योगले हाल दैनिक करिब २० हजार लिटर दुध प्रशोधन गरिरहेको छ । माग धान्न कम्पनीले झापामा आफ्नै फार्म हाउस समेत सञ्चालन गरेको छ, जहाँ १६० वटा उन्नत जातका गाई छन् । फार्मबाट दैनिक एक हजार लिटर दुध उत्पादन हुन्छ ।

“एकल प्रयासले मात्र यति ठूलो परिमाणमा उत्पादन सम्भव छैन,” श्रेष्ठले भने, “त्यसैले हामीले झापाको दमकलगायतका क्षेत्रबाट दुध संकलन गर्छौं भने पाँचथर, ताप्लेजुङ, इलाम र संखुवासभाका किसानले उत्पादन गरेको छुर्पी हाम्रा कलेक्टरमार्फत खरिद गर्छौं ।”

निजी क्षेत्रले छुर्पी निर्यातमा आक्रामक बजार विस्तार गरेपछि पूर्वी नेपालमा दुध नबिक्ने समस्या (मिल्क होलिडे) लगभग अन्त्य भएको व्यवसायीहरूको दाबी छ । छुर्पी निर्यातले ग्रामीण अर्थतन्त्रलाई टेवा पु¥याएको र किसानले दुधको उचित मूल्य पाएको श्रेष्ठ बताउँछन् ।

कृषिजन्य वस्तुको निर्यातमा उल्लेख्य योगदान पु¥याएको भन्दै नेपाल सरकारले गत असारमा मनराम हिमालयन ह्यान्डीक्राफ्टलाई ‘सिआइपी’ (महत्त्वपूर्ण व्यावसायिक व्यक्ति÷कम्पनी) को सम्मान प्रदान गरेको थियो । ५ अर्ब रुपैयाँभन्दा बढीको कृषिजन्य वस्तु निर्यात गर्ने र विदेशी मुद्रा आर्जनमा सघाउने कम्पनीहरूको सूचीमा यो उद्योग दरिलो रूपमा उभिएको छ ।

अमेरिकामा नेपाली छुर्पीको उच्च माग रहे पनि युरोपियन बजारमा भने अझै पहुँच पुग्न सकेको छैन । युरोपियन युनियनको कडा मापदण्ड र नेपालमा पशुहरूमा देखिने खोरेत रोग बाधकको रुपमा देखिएको छ ।

“नेपालका पशुहरू खोरेत मुक्त छन् भन्ने अन्तर्राष्ट्रिय स्तरको ल्याब टेस्टिङ रिपोर्ट र प्रमाणीकरण नभएसम्म युरोपले दुग्धजन्य पदार्थ लिँदैन,” सञ्चालक श्रेष्ठले भने, “सरकारले इलाम र झापा क्षेत्रलाई खोरेत मुक्त क्षेत्र घोषणा गर्न खोप कार्यक्रम त चलाएको छ, तर यसलाई छिटो प्रमाणीकरण गरेर सहजीकरण गरिदिए हाम्रो बजार अझै फराकिलो हुने थियो ।”

सरकारसँग आर्थिक सहयोग भन्दा पनि नीतिगत सहजीकरण, क्वारेन्टाइन र ल्याब टेस्टिङको सहज सुविधाको अपेक्षा उद्योगले गरेको छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्