ईश्वर पोखरेलको घोषणा : अध्यक्षमा उठ्छु, ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्छ

ईश्वर पोखरेलको घोषणा : अध्यक्षमा उठ्छु, ओलीले नेतृत्व हस्तान्तरण गर्नुपर्छ


काठमाडौँ ।नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको आगामी ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

मंगलबार एक विज्ञप्ति जारी गर्दै पोखरेलले यही मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशनमा पार्टीको नेतृत्व लिन अध्यक्ष पदमा उठ्ने औपचारिक घोषणा गरेका हुन्।

यसअघि पोखरेलसहितका नेताहरूले औपचारिक कार्यक्रम गरेर उम्मेदवारी घोषणा गर्ने तयारी गरेका थिए। तर, तयारी नपुगेको भन्दै उनले विज्ञप्तिमार्फत नै उम्मेदवारी सार्वजनिक गरेको उनी निकट एक नेताले जानकारी दिए। यसअघि बसेको सचिवालय बैठकमा पनि पोखरेलले अध्यक्षमा उठ्ने संकेत गरेका थिए ।

पोखरेलको यो घोषणासँगै एमाले महाधिवेशनमा नेतृत्वका लागि प्रतिस्पर्धा हुने देखिएको छ। वर्तमान अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि पनि आफू उम्मेदवार बन्ने यसअघि नै बताइसकेका छन्।

पोखरेलले भने विज्ञप्तिमार्फत अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरण गरेर अभिभावकीय भूमिकामा बस्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘पार्टीको आन्तरिक लोकतन्त्र सम्बन्धी आफैंले अघि सारेका मान्यतालाई सम्मान गर्दै पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका निर्वाह गर्नुहुनेछ भन्ने अपेक्षा लिएको छु। अभिभावकीय भूमिकामार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमरेडलाई अनुरोध गर्दछु।’

पोखरेलले पार्टी पुनर्निर्माण, पुनर्गठन र रूपान्तरणका लागि देशभरका कार्यकर्ताको आग्रह स्वीकार गर्दै उम्मेदवारी दिएको स्पष्ट पारेका छन्। उनले पार्टी निर्माण सम्बन्धी विचारको आधारमा आफू यो निष्कर्षमा पुगेको बताए।
‘पार्टीका सदस्यहरूको योग्यता, क्षमता र रुचि अनुसार जिम्मेवारी प्रदान गर्दै सामूहिक नेतृत्व र पहलमार्फत नेकपा (एमाले)लाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा विकास गर्न प्रतिबद्ध छु,’ पोखरेलले उल्लेख गरेका छन्। उनले निकट भविष्यमै आफ्नो राजनीतिक तथा सांगठनिक दृष्टिकोणको विस्तारित दस्तावेज सार्वजनिक गर्ने पनि जानकारी दिएका छन्।

उम्मेदवारी घोषणाका क्रममा पोखरेलले आफ्नो राजनीतिक संघर्षलाई पनि स्मरण गरेका छन्। स्कुले जीवनदेखि नै न्याय र समानताका लागि होमिएको बताउँदै उनले भूमिगत जीवन, जेलनेल र यातना सहेको अनुभव सुनाए।‘मधेसको तातो घामदेखि हिमालको चिसो सिरेटोसम्मका भूगोलमा पार्टी निर्माणमा क्रियाशील भएँ। संसदीय र राजकीय जिम्मेवारी सम्हालेको अनुभव छ,’ उनले भनेका छन्, ‘जीवनका उचारचढावहरूमा इमान र निष्ठालाई कहिल्यै डगमगाउन दिएको छैन। विधि, समन्वय, सामूहिकता र सहकार्यमा म विश्वास राख्छु।’

पोखरेलले महाधिवेशनका लागि प्रतिनिधि छनोटमा उच्च विवेक प्रयोग गर्न र निर्भयताका साथ सहभागी हुन पार्टी पंक्तिलाई आह्वान समेत गरेका छन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्